वासिंगटन– अमेरिकाका राज्यसचिव माइक पोम्पेओले इरानसँग भएको ऐतिहासिक आणविक सम्झौता झुटको आधारमा गरिएको बताएका छन्। इजरायलले इरानको एक गोप्य आणविक हतियार कार्यक्रमको प्रमाण आफुसँग रहेको बताएको भोलिपल्ट पोम्पेओले उक्त आरोप लगाएका हुन्।
उनले भने,‘सन् २०१५ मा इरान र अन्य ६ शक्ति राष्ट्रहरुबीच भएको उक्त सम्झौता झुटमा आधारित थियो। एकअर्काको प्रतिष्ठामा आधारित थिएन।’ पोम्पेओले इरानभित्रबाटै प्राप्त भएको दस्तावेज इजरायलले हात पार्दै आफुसम्म आइपुगेको र उक्त दस्तावेजले इरानी शासनले सत्य नबोलेको भन्ने स्पष्ट देखाएको बताए।
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि केहि दिनअघि मात्रै उक्त सम्झौताको नविकरण नगर्ने संकेत दिएका थिए। तर सोको अन्तिम निर्णय भने ट्रम्पले आउने सातासम्ममा लिने बताइएको छ।
उता अन्य पश्चिमा राष्ट्रहरुले भने उक्त सम्झौतालाई नविकरण गर्नुपर्नेमा जोड दिँदै आएका छन्।
सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सन् २००३ मा आणविक हतियार कार्यक्रम ‘प्रोजेक्ट अमाद’ बन्द गरिएपछि पनि इरानले गोप्य रुपमा आणविक हतियारको जानकारी लिने कार्यत्रमलाई भने नरोकेको बताएका थिए।
सन् २००२ मा पनि निर्वासनमा रहेका इरानी विपक्षी दलका एक नेताले इरानले आफैले हस्ताक्षर गरेको परमाणु अप्रसार सन्धीको विपरित गोप्य रुपमा आणविक परमाणु स्थलको निर्माण गरिरहेको बताएका थिए।
नेतान्याहुले आफुले प्रस्तुत गरेको हजारौं गोप्य परमाणु फाइलले सन् २०१५ को सम्झौता अघि इरानले आफ्ना परमाणु महत्वाकांक्षाको बारेमा झुट बोलेको प्रमाणित हुने दावी गरेका थिए।
उता इरानले भने परमाणु सम्झौता गर्नुअघि कुनै पनि आणविक हतियारसम्बन्धि कार्यक्रम सञ्चालन नगरेको बताउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।