टोकियो– जापान प्रहरीले जेलबाट भागेका एक कैदीलाई ३ सातापछि पक्राउ गरेको छ। नाटकीय शैलीमा २७ वर्षीय तात्सुमा हिराओ जापानको इमाबारी शहरस्थित जेलबाट एक साताअघि भागेका थिए।
हिराओको खोजीमा इमाबारी नजिक रहेकाे मुकाइसिमा टापुमा हेलिकप्टर, ड्रोन तथा कुकुरसहित ६ हजार प्रहरी अधिकारीहरुलाई खटाइएको थियो। तर उनलाई ७० किलोमिटर टाढा रहेको हिरोसिमास्थित रेल स्टेशनमा पक्राउ गरिएको थियो। तर उनी खतरनाक अपराधी भने नरहेको प्रहरीले जनाएको छ।
चोरीको आरोपमा साढे ५ वर्ष सजाय भुक्तान गरिसकेका उनलाई हतकडीविना नै स्वतन्त्र हिड्नसक्ने स्विकृति दिइएको थियो। तर उनको लागि भने उक्त स्वतन्त्रता जेलबाट भाग्ने उपाय बन्न पुगेको हो।
उनी फरार भएपछि मुकाइसिमा टापुमा गएको संकेत मिलेपछि प्रहरीले खोजीकार्य सुरु गरेको थियो। २२ हजार मानिसको बसोबास रहेको मुकाइसिमा मात्र २२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। जहाँ उनलाई लामो समयसम्म लुक्नका लागि सजिलो थिएन।
हेलिकप्टर, तालीमप्राप्त कुकुर तथा ड्रोनको सहायतामा खोजी कार्य गर्दा पनि प्रहरी हिराओलाई पक्राउ गर्न असफल भएको प्रति जापानका समाचार संस्थाहरुले प्राथमिकताका साथ समाचार प्रशारण गरेका थिए।
अन्ततः फिन्गरप्रिन्ट, मोजा, मोबाइल फोन तथा खाना खाएको स्थलमा गरेको फोहर लगायतका स–साना प्रमाणको आधारमा प्रहरी उनीसमक्ष पुग्न सफल भएको थियो।
उनले कार चोरीका दौरानमा पनि अनौठो सुचना छोडेका थिए। कारका मालिकलाई लेखिएको छोटो सुचनामा भनिएको थियो,‘मैले तपाईंको कारलाई उधारेमा लिएको छु तर यसलाई कहिल्यै पनि क्षति पुर्याउनेछैन।’
फरार कैदी जेलबाट भागेको घटनालाई लिएर जापानका न्याय मन्त्रीले सार्वजनिक रुपमा माफी समेत मागेका छन्।
पक्राउ परेपछि हिराओले आफु समुद्रको बाटो हुँदै पौडिएर हिरोसिमासम्म पुगेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।