म्यानमार– म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सूकीसँग संयुक्त राष्ट्रसंघ अन्तर्गतको सुरक्षा परिषद्को उच्चस्तरीय टोलीले सोमबार भेटवार्ता गरेको छ।
म्यानमारको राखिन राज्यमा हिंसा सुरु भएपछि उनलाई भेट्ने कुटनीतिज्ञहरूमध्ये यो सबैभन्दा उच्च तहको भेटवार्ता हो।
म्यानमारको राखिनमा मुस्लीम धर्म मान्ने रोहिङ्ग्या समुदाय र बहुसङ्ख्यक बुद्धमार्गी समुदायबीच भएका विवादमा सरकारी सेनाले गरेको कारबाहीका क्रममा दर्दनाक हिंसाका घटना भएका छन्।
सोमबार दिउँसो सूकीको अध्यक्षतामा बसेको बैठकमा १५ जना राष्ट्रसंघीय प्रतिनिधिहरू सहभागी भएका थिए।
उनीहरूले म्यानमारबाट विस्थापित भएर शरणार्थी जीवन बिताइरहेकाहरूलाई सुरक्षित तरिकाले स्वदेश फकर्ने व्यवस्था गर्न सूकीलाई दबाब दिएका थिए।
उनीहरूको टोलीले हेलिकोप्टरमार्फत् मंगलबार हिंसा प्रभावित उत्तरी राखिन राज्यको अवलोकन पनि गरेका छन्।
पछिल्लो एक तथ्यांक अनुसार झण्डै सात लाख रोहिङ्ग्या समुदायका व्यक्तिहरु विस्थापित भएर छिमेकी मुलुक बङ्लादेशमा शरणार्थी भएका छन्।
राष्ट्रसंघीय अधिकारीहरूले बंगलादेशमा रहेका ठूलो संख्याका म्यान्माली रोहिङग्या शरणार्थीहरूका लागि कम्तिमा पनि २५ करोड डलर सहायता चाहिएको बताएका छन्।
उनीहरूले बंगलादेशमा रहेका रोहिङग्याहरूको खानपिन तथा अन्य आधारभूत आवश्यकताकै लागि सो रकम चाहिएको बताएका हुन्।
रोहिङग्या मुसलमान समुदायका नागरिकलाई स्वदेश फर्काउने प्रयोजनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को एक प्रतिनिधिमण्डलले शनिबारदेखि म्यानमार र बङ्गलादेशको भ्रमण सुरु गरेको हो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।