वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग हुने भनिएको शिखर वार्ता कोरियाली सीमाक्षेत्रमा नै गर्न सकिनेतर्फ संकेत गरेका छन्।
ट्रम्पले सोमबार ट्विटरमा लेखेका छन्, 'बैठकका लागि कैयौं मुलुक उपयुक्त भनी व्यक्त भएका छन्। तर, तेस्रो मुलुकभन्दा उत्तर र दक्षिण कोरियाको सीमास्थित शान्ति/स्वतन्त्रता गृह नै शान्ति र स्थायित्वका लागि धेरै प्रतिनिधिमूलक हुन सक्दैन र?'
उत्तर कोरिया र दक्षिण कोरियाको सैन्य निषेधित क्षेत्र तथा सिमानामा रहेको कोरियाली युद्धविरामस्थल पानमुनजोममा रहेको शान्तिगृहमा गत शुक्रबार नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनबीच ऐतिहासिक शिखर सम्मेलन भएको थियो।
दुई कोरियाबीच सन् १९५३ मा युद्धविराम भएदेखि नेता किम दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने पहिलो कोरियाली नेता हुन्। नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मुनसँगै सिमानाको दक्षिणी भागबाट शान्तिगृहमा प्रवेश गरेका थिए।
कोरियाली प्रायदीपलाई पूर्णरूपमा आणविक निशस्त्रीकरण गर्न कोरियाली प्रतिवद्धताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प र किमबीचको शिखर सम्मेलनको तयारी भइरहेको छ। सोलका अनुसार उत्तर कोरियाले आफ्ना आणविक हतियार परीक्षणस्थललाई केही हप्ताभित्रमा बन्द गर्ने र यसको पुष्टिका लागि अमेरिकी विज्ञलाई निमन्त्रणा गर्ने वाचा गरेको छ।
अमेरिकाले यदि उत्तर कोरिया विरूद्ध घुसपैठ नगर्ने वाचा गर्ने हो भने प्योङयाङलाई आणविक हतियारको आवश्यकता नरहने नेता किमले मुनसँगको कुराकानीमा बताएका दक्षिण कोरियाली अधिकारीले बताएका छन्। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।