जाकार्ता- फेसबुकमा जथाभावी लेख्ने एक व्यक्तिलाई सोमबार इन्डोनेसियामा पाँच वर्ष जेल सजाय तोकिएको छ।
इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच वर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन्। इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय सूचना सम्बन्धी एउटा कानुनी व्यवस्था विवादमा परिरहेको छ।
विवादास्पद कानुनको सिकार ३९ बर्षका अल्नोल्डी बहारी भएका छन्। उनले आफूले ईश्वरीय शक्तिको अनुभव गरेको दाबी गर्दै अन्य मुस्लिम समुदायको ईश्वरप्रतिको विश्वासमाथि प्रश्न उठाएका थिए।
'उनलाई पाँच वर्ष जेल सजायको फैसला भएको छ, साथै सात हजार २ सय अमेरिकी डलर जरिवाना पनि गरिएको छ', बहारीका वकिल अन्डी कोमाराले भने।
उनले थपे, 'हामीले यस फैसलाको पुनरावलोकन गराउनेछौं, किनकि त्यहाँ धेरै विषयलाई बङ्ग्याइएको छ।'
कारबाहीमा परेका बहारी पश्चिम जाभा प्रान्तको पान्डेग्लाङका इन्डोनेसियाली नागरिक हुन्। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।