सोल- दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्धको प्रचार संयन्त्र हटाउने भएको छ।
दक्षिण कोरियाले लामो समयदेखि सीमा क्षेत्रमा राखेको रक्षा मन्त्रालय अन्तर्गतको उक्त प्रचार सामग्री र समूह हटाउने भएको हो।
गत शुक्रबार उत्तर र दक्षिण कोरियाबीच भएको शान्ति सम्झौता अनुसार दुई देशले युद्ध अन्त्यको घोषणा गरी एकअर्का विरुद्ध प्रचारप्रसारको काम पनि नगर्ने जनाएका थिए। सोही सम्झौताको पालना गर्दै दक्षिण कोरियाले उत्तरको सीमामा राखिएको उक्त प्रचार संयन्त्र हटाउने जनाएको हो। मे १ देखि नै सीमा क्षेत्रमा उक्त संयन्त्र सीमा क्षेत्रमा नराखिने जानकारी दक्षिण कोरियाको रक्षा मन्त्रालयले दिएको छ।
शुक्रबारको उक्त पानमुनजोम सम्झौताको पालना गर्ने पहिलो पहलस्वरुप सो संयन्त्र हटाउने निर्णय गरिएको दक्षिण कोरियाले जनाएको छ।
गत शुक्रबार भएको दुई कोरियाली उच्च नेताहरूको भेटवार्ता र सम्झौताले कोरियाली प्रायद्वीपमा शान्तिको पहल गर्ने देखिएको बताइएको छ।
उत्तर कोरियाले गत वर्षको सेप्टेम्बर ३ मा छैटौँ तथा त्यस समयसम्मको सबैभन्दा ठूलो आणविक परीक्षण गरेको थियो। त्यस क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्वीप हुँदै संसारमै ठूलो हलचल ल्याइदिएको थियो।
त्यसयता भएका शान्तिका पहलहरुले सार्थकता पाउँदै गएको देखिएको छ। कोरियाली प्रायद्वीपमा सन् १९५३ पछि कोरियाली जनता त्रास र अन्योलमा बाँच्न बाध्य छन्।
कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच अझै पुनर्मिलन हुन नसकेको अवस्थामा दुई कोरियाबीचको यो पछिल्लो वार्ताले धेरैमा आशा थपेको छ।
उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरमा भएको वार्ता, सहमति र यी दुई देशबीच भएको युद्ध अन्त्यको घोषणासँगै कोरियाली प्रायद्वीपमा शान्ति र वार्ताका लागि ठूलो प्रगति भएको बताइएको छ।
उत्तर कोरियाली नेता किम जोङ उनले आगामी दिनमा अणु अस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएबाट पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा ठूलो परिवर्तन आएको छ।रासस/सिन्हवा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।