सिओल– उत्तर कोरियास्थित आणविक परिक्षण स्थल आगामी मे महिनामा बन्द हुने दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लु हाउसले जनाएको छ।
उत्तर कोरियास्थित पुंगेइ–री आणविक स्थललाई छिट्टै नै बन्द गरिने र सो क्रममा अमेरिका तथा दक्षिण कोरियाका विशेषज्ञलाईसमेत निमन्त्रणा गरिने जानकारी प्राप्त भएको ब्लु हाउस प्रवक्ता योन योङ–चाङले बताए।
वैज्ञानिकहरुका अनुसार सो आणविक स्थल केही मात्रामा गत सेप्टेम्बरमा नै बन्द भइसकेको थियो।
गत शुक्रबार उत्तर कोरियाली प्रमुख नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीचको शिखर वार्तामा कोरियाली प्रायद्विपलाई आणविक निशष्त्रिकरण क्षेत्र बनाउने सहमति भएको थियो।
शनिबार मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामि ३ देखि ४ साताभित्रमा उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्न चाहेको बताएका थिए।
उत्तर कोरियाले दक्षिण कोरियासँगको शिखर वार्ता हुन केही दिनअघि मात्रै आफ्ना सबै आणविक कार्यक्रम बन्द गर्ने घोषणा गरेको थियो।
प्रवक्ता चाङले भने,‘उत्तर कोरियाली नेता किमले आगामि मे महिनासम्ममा आणविक कार्यक्रम स्थल बन्द गर्ने बताउनुभएको छ।’
‘उत्तर कोरियाली नेता किमले दक्षिण कोरिया र अमेरिका, अन्य अन्तर्राष्ट्रिय समुदाय तथा ट्रान्सपरेन्सीलाई समेत छिट्टै नै उक्त कार्यक्रमको अवलोकनका लागि निमन्त्रणा दिइने बताउनु भएको थियो।’, चाङले थपे।
यसका साथै उत्तर कोरियाले दक्षिणको ‘टाइम जोन’सँग हाल रहेको ३० मिनेटको फरकलाई पनि समान बनाउने बताएको छ। यो विषयमा उत्तर कोरियाले भने हालसम्म कुनै पनि टिप्पणी गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।