वासिङ्टन– उत्तर कोरियाले गत वर्ष एकपछि अर्को गर्दै आणविक हतियार तथा लामो दूरीका क्षेप्यास्त्र परीक्षणका कारण विश्व समुदायमा त्रास फैलिएका समय स्थितिलाई नियन्त्रणबाहिर जान नदिन चीनले गरेको कूटनीतिक प्रयासको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार प्रशंसा गरेका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिन पिङले चीनको कोरियाली प्रायद्विपमा शान्ति स्थापनार्थ खेलेको पहलको खुलेर प्रशंसा गर्दै आफ्नो ट्विटर पेजमा लेखेका छन्,‘मेरो असल साथी तथा चीनका राष्ट्रपति सीले खासगरी कोरियाली सीमा विवाद समाधानका लागि गरेको प्रयासलाई हामी कसैले नबिर्सौं। उहाँविना वार्ता प्रयास लामो र कठिन हुने थियो।’
चीन उत्तर कोरियाको एकमात्र प्रमुख सहयोगी हो तर प्योङ्याङको आणविक हतियार परीक्षणका सन्दर्भमा संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दीमा चीनले समर्थन जनाएको थियो। यस विषयमा चीनले उत्तर कोरियामा नाकाबन्दीको घोषणा नगरेको भए कोरियाली प्रायद्विपको समस्या समाधान उन्मुख हुने सम्भावना थिएन।
शुक्रबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसहित दुवै देशका नेताहरुले पान्मुन्जोममा रहेको पिस हाउसमा झण्डै डेढ घण्टा वार्ता गरे।
दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसका उच्च अधिकारीहरुले दिएको जानकारी अनुसार दुवै नेताहरूले कोठाभित्र नजिकबाट औपचारिक वार्ता गरेका थिए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।