मानागुवा- एक हप्तादेखि भइरहेको सरकारविरोधी आन्दोलनका क्रममा निकारागुवामा ३४ जनाको मृत्यु भएको छ। राष्ट्रपति डानियल ओर्टेगा र सामाजिक सुरक्षा पुनरावलोकनसम्वन्धी कानुनका विरुद्धमा भइरहेको आन्दोलनका क्रममा उनीहरुको मृत्यु भएको हो।
अप्रिल १८ देखि निकारागुवाका विभिन्न ठाउँमा ठूलाठूला प्रदर्शन भएका सञ्चारमाध्यमले जनाएका छन्। आन्दोलनकारीले ७२ वर्षीय वामपन्थी नेता र उनकी श्रीमती तथा उपराष्ट्रपति रोसारिओ मुरिल्लोविरुद्ध चर्को आक्रोश पोखेका छन्। आन्दोलनका क्रममा पसल तथा घर तोडफोड लुटपाट हुनुका साथै हिंसात्मक आक्रमण भएका छन्।
सामाजिक सुरक्षा सुधारसम्बन्धी नयाँ कानुनको विरोधमा सुरु भएको आन्दोलन राष्ट्रपति ओर्टेगाले कानुन फिर्ता लिँदासमेत आन्दोलन रोकिएको छैन। सडक आन्दोलनमा विद्यार्थीको सहभागिता बढ्दै गएपछि आन्दोलनकारी, प्रहरी, विभिन्न समूहका बीचमा छुट्टाछुट्टै झडप भएका छन्। झडपका क्रममा ढुङ्गामुढा, चक्कु लगायतका हतियारको प्रयोग भएको समाचारमा जनाइएको छ।
ओर्टेगाले आन्दोलनकारीलाई वार्तामा आउन पटकपटक आग्रह गरे पनि प्रदर्शनको नेतृत्व गर्दै आएका नेताले भने सरकारले विपक्षीमाथि दमन रोकेपछि मात्रै वार्तामा बस्ने अडान लिएका छन्।
गत बुधबार पेन्सन र सामाजिक सुरक्षा भत्ता कटौतीको घोषणा सोमबार फिर्ता लिइएको थियो। ‘आइएनएसएस’ भनी नामकरण गरिएको उक्त आदेशले मुख्य रुपमा निवृत्तीभरणमा प्रभाव पार्ने बताइएको छ।
सन् २००७ सालमा पहिलो पटक राष्ट्रपति बनेका ओर्टेगा अहिले राष्ट्रपतिका रुपमा चौथो कार्यकाल सम्हालिरहेका छन्।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।