भैरहवा- जन्मको आधारमा अंगीकृत र आमाको नामबाट नागरिकता पाउनुपर्ने माग गर्दै रुपन्देहीका नागरिकले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। आमाबाबुको नागरिकता भएर पनि नेपाली नागरिकता पाउनबाट वञ्चित रहेको गुनासो गर्दै संघीय 8वादी फोरम नेपाल जिल्ला कार्य समिति रुपन्देहीको नेतृत्वमा नागरिकता पीडितहरुले ज्ञापन बुझाएका हुन्।
नेपालको संविधानको कार्यान्वयन तथा अदालतले दिएको आदेशको पालन गर्नु राज्यको दायित्व र कर्तव्य भएको र संविधान बमोजिम सबै नेपालीले नागरिकता पाउनुपर्ने पीडितहरुको माग रहेको थियो। पीडितहरु पनि यही देशको नागरिक भएको र नागरिक भएको आभास दिलाउन राज्यले नागरिकता दिनुपर्ने उनीहरुको माग थियो।

फोरम नेपाल तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ (१) का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेले राज्यले २०६३ सालमा वितरण गरेका नागरिकताका सन्तानलाई नागरिकता नदिएर विभेद गरेको बताए। यस्ता नागरिकहरु रुपन्देहीमा मात्रै एक लाखभन्दा बढी रहेको बताउँदै यस्तालाई पनि राज्यको मूल धारमा ल्याउन माग गरे।
सिद्धार्थ नगर नगरपालिका वडा नम्बर ७ का मनोज ढाडी नागरिकता नहुँदा वर्षौंदेखि आफूमा राज्यविहीन भएको आभास भएको बताए।

नेपालमै २०६३ सालमा नागरिकता प्राप्त गरेका अभिभावकका सन्तानलाई नागरिकता प्रदान गर्नु भनी जिल्ला अदालतहरुले गरेको परमादेश आदेशलाई नजिर बनाउँदै रुपन्देहीमा पनि नागरिकता प्रदान गर्नुपर्ने माग उठेको हो।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले अहिले स्पष्ट कार्य विधिको अभावमा नागरिकता प्रदान गर्न नसकिएको जनाए। उनले आफूसित यस्ता धेरै गुनासा आउने गरेको र समाधानका लागि प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा पहल गर्ने आश्वसन दिए।

ज्ञापन पत्र बुझाउन पुगेका संघीय 8वादी फोरमका ५ नम्बर प्रदेश अध्यक्ष महेन्द्र यादव, बर्दियाकी प्रदेशसभा सदस्य सुमन शर्मा रायमझी र पाल्पाकी प्रदेशसभा सदस्य पूर्णमति ढेंगा मगर लगायतले सरकारले सबै नागरिकलाई नागरिकता प्रदान गर्न आग्रह गरे।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।