यराभान– अर्मेनियामा प्रधानमन्त्री सेर्ज सार्गस्यानले सोमबार राजिनामा दिएपनि सत्ताधारी दल रिपब्लिकन पार्टीले सत्तालिप्सा देखाएको भन्दै बुधबार पनि अर्मेनियाली प्रतिपक्षी समूह समर्थक दशौँ हजार नागरिकले राजधानी लगायत देशका प्रमुख शहरमा विरोध जुलुस निकालेका छन्।
हालै प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानीलगायतका प्रमुख शहरहरूमा भएका प्रदर्शनपछि सोमबार पदबाट राजिनामा दिएका थिए।
‘वर्तमान अवस्थामा समस्या समाधानका कैयौं उपाय थिए तर मैले ति कुनै पनि रोज्न चाहिन,’ सार्गस्यानले जनताको प्रजातान्त्रिक विरोधको सम्मान गर्दै प्रधानमन्त्रीबाट हटेको बताए।
अर्मेनियाको प्रतिपक्षी सांसद तथा सिभिल कन्ट्राक्ट पार्टीका नेता निकोल पासिन्यानको नेतृत्वमा अर्मेनियाका मुख्य शहरहरूमा सार्गस्यानले सत्तामोहका कारण मुलुकलाई अनिर्णयको बन्दी बनाएको भन्दै भएका प्रदर्शनपछि ६३ वर्षीय प्रधानमन्त्रीले राजिनामा दिएका थिए।
यही अप्रिल १७ गतेदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका सार्गस्यानले राजिनामा दिएपनि सत्ताधारी दलले सत्ता हस्तान्तरण गर्न आनाकानी गरेको भन्दै प्रदर्शनलाई प्रतिपक्षी दलले जारी राखेको छ।
‘रिपब्लिकन नेताहरूले सडक आन्दोलनलाई दवाएर अघि बढ्न खोजे मुलुकभर दङ्गा र झडपका भयानक घटनाहरूको देशले सामना गर्नुपर्नेछ,’ ४० वर्षीय एक वकील रजन्ना भार्तान्यानले बताएको एएफपीले लेखेको छ।
अर्मेनीयाका चर्चित राजनीतिक विश्लेषक स्टेपन ग्रिगोर्यानले प्रदर्शनको समर्थनमा भने,‘अर्मेनियाको वर्तमान् राजनीतिक पद्धतिलाई अपराधी शासन व्यवस्थाका रूपमा देखिएको छ। जनता ‘गर वा मर’को अवस्था रहेका छन्।’
उनले सरकारबाट प्रधानमन्त्रीले राजिनामा दिएको तर सत्ताधारी दलले सत्ताको चावी जनतालाई हस्तान्तरण गर्न आनाकानी गरेको बताउँदै भने,‘टाउको काटिएको छ तर शरीर (सत्ताधारी रिपब्लिकन पार्टी) सत्ताबाट हट्न मानिरहेको छैन। यसलाई पनि आन्दोलनको बलमा हटाइनेछ।’
यसैबीच रूसले पूर्व सोभियत राज्य अर्मेनियामा भइरहेको राजनीतिक घटनाक्रमलाई निकटबाट हेरिरहेको तर हस्तक्षेप नगर्ने बताएको छ। रूसले अर्मेनियामा सैनिक शिविर राख्दै आएको छ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेश्कोभले भने,‘हामीले यो विषयलाई अर्मेनियाको आन्तरिक मामिला भएको सम्झेका छौँ।’ रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।