काठमाडौं- युनेस्कोले विश्व सम्पदाको सूचीमा राखेका पुरातात्विक महत्वका क्षेत्र सहित काठमाडौं, ललितपुर र भक्तपुरका सांस्कृतिक एवं ऐतिहासिक सम्पदा २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भए। भूकम्पमा परेका सम्पदाहरु ३ वर्ष बितिसक्दा पनि निर्माणकै क्रममा छन्। काठमाडौंको वौद्धनाथ क्षेत्र निर्माण सम्पन्न भएको छ भने अन्य सम्पदा निर्माणकै चरणमा छन्।
पाटन दरवार, हनुमान ढोका दरवार, भक्तपुर दरवार, पशुपतिक्षेत्र, स्वयम्यूनाथ, चागुनारायण संरक्षित क्षेत्र काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदामा सूचीकृत ऐतिहासिक स्थल हुन्।
बौद्धनाथ
बौद्धनाथ स्तुपामा वैशाख १२ को भुकम्पले क्षति पुगेको थियो। बौद्धनाथ स्तुपा स्थानीय र सरकारको पहलमा एक वर्षमै पुनःनिर्माण भयो। अन्य सम्पदा कहिले निर्माण होला भन्ने अन्यौलकै बीच २३ करोड लगानीमा बैद्धनाथ स्तुपा बने बन्यो।
पाटन दरवार
पाटन दरबार क्षेत्र मल्लकालीन सभ्यताको नमूना हो। यस क्षेत्रमा भूकम्पले धेरै क्षति पुर्याएको थियो। भूकम्पमा कृष्ण मन्दिरबाहेक अन्य मन्दिरमा क्षति पुगेको थियो। पाटन दरबार क्षेत्रको पुनःनिर्माण कार्य जारी छ।






हनुमानढोका
हनुमान ढोका दरवार क्षेत्र पुनःनिर्माण थालनी भए पनि विवादरहित हुन सकेको छैन। स्थानीयले हनुमानढोका दरवार क्षेत्रमा पुरातत्वको अवशेष कायम हुनेगरी बनाउन माग गरेका छन्। दरवार क्षेत्रमा पछिल्ला केही वर्ष क्रिस्टल भवन निर्माणलाई लिएर स्थानीय र सरकारी पक्षबीच विवाद हुँदै आएको छ। स्थानीयहरु उक्त भवन निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतसम्म पुगेका छन्। बसन्त दरवार लगायत अन्य भवनको निर्माण हालसम्म सुरु हुन सकेको छैन। यसैसँग जोडिएको धरहरा र रानी पोखरी पुनःनिर्माणमा पनि सरकार र स्थानीयबीच विवाद छ।






भक्तपुर दरवार
भक्तपुर दरबार क्षेत्र पनि निर्माणको चरणमा छ। मल्ल्कालीन नमूना रहेको यो क्षेत्रमा पनि भूकम्पले ठूलो क्षति पुर्याएको थियो। नेवारी संस्कृतिको अनुपन नमूना रहेको यस क्षेत्र तीन वर्षसम्म पनि निर्माणकै क्रममा छ।
चाँगुनारायण
विश्व सम्पदा सूचीमा परेको चाँगुनारायण संरक्षित क्षेत्रमा पनि भूकम्पको असर पर्यो। मन्दिरमा समेत क्षति पुगेको थियो। उक्त मन्दिर पुनःनिर्माणको क्रममा छ।
स्वयम्भूनाथ
वौद्ध धर्मावलम्बीहरुको अर्को धरोहर स्वयम्भूनाथलाई भूकम्पले नराम्ररी क्षति पुर्यायो। तीन वर्षको अवधिमा पनि स्वयम्भूनाथको पुनःनिर्माण कार्य सकिएको छैन।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।