काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि चीनका राजदूत यू होङले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटमा नेपाल–चीनबीचको ऐतिहासिक, कूटनीतिक, सामाजिक, सांस्कृतिक र श्रमसम्बन्धी आर्थिक सम्बन्धलगायत दुुई देशबीचको पारस्परिक सहयोगका विविध आयामहरुबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्री विष्टले पछिल्लो दशकमा चीनले हासिल गरेको आर्थिक प्रगति र त्यसको दिगोपनाको प्रशंसा गर्दै चीनको विकासको प्रभावको उपयोगबाट मात्र पनि गरिबी निवारण, सामाजिक रुपान्तरण र आर्थिक विकासमा नेपालले फड्को मार्नसक्ने बताए।
उनले नेपालको दक्ष र सीपयुक्त जनशक्तिलाई स्वदेशमा नै उपयोग गरी नेपालको विकासमा परिचालन गर्नका लागि सरकारले उपयुक्त नीति तयार गरी कार्यान्वयन गर्ने सोच बनाएको र यसका लागि चीनसँगको अनुभव आदानप्रदान उपयोगी हुने कुरा समेत उल्लेख गरे।
सो अवसरमा चिनियाँ राजदूत यूले चीन आधुुनिक र प्रविधियुक्त विकास निर्माणको दिशामा अग्रसर भएको र यसैमा आधारित भइ चीन सरकारको सहयोगमा नेपालमा विभिन्न आयोजनाहरु सञ्चालन रहेको चर्चा गरे।
नेपालमा सञ्चालित परियोजनाहरुमा कार्यरत चिनियाँ कामदारलाई भिसा उपलब्ध गराउने प्रणालीलाई थप सरलीकृत बनाउन सकेमा नेपालमा कार्यरत चिनियाँ कामदारलाई थप सहज हुने राजदूत यूले धारणा राखे।
राजनीतिक स्थायित्वसँगै नेपालको लगानी नीति र औद्योगिक वातावरणमा क्रमशः सुधार हुँदै गएकाले आगामी दिनमा चिनियाँ लगानी बढ्ने र यसबाट आन्तरिक रोजगारी अभिवृद्धिमा सघाउ पुुग्ने विश्वाससमेत चीनियाँ राजदूतले व्यक्त गरेका मन्त्रालयले जनाएको छ।
राजदूत यूले नेपाललाई आवश्यक पर्ने सीपमूलक तालिम र उद्यमशिलता विकासको लागि प्रस्ताव पहिचान गरी जानकारी गराइएमा त्यस्ता तालिम सञ्चालन गर्न र तालिम केन्द्रहरुको स्तरोन्नतिका लागि चीन सरकारले आवश्यक सहयोग गर्ने उल्लेख गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।