वासिङ्टन– इरानका राष्ट्रपति हशन रूहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिएका छन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच वासिङ्टनमा उक्त एजेण्डामा छलफल हुनु केही घण्टापूर्व रुहानीको यस्तो चेतावनी आएको हो।
ट्रम्पले उक्त सम्झौतालाई भङ्ग गरिदिने भनेर दिदैँ आएको धम्कीलाई कार्यान्वयन गरे त्यसको गम्भीर परिणामहरू आउनसक्ने रुहानीले बताए।
विश्व शक्ति राष्ट्रहरु र इरानबीच सन् २०१५ मा परमाणु कार्यक्रमबारे एक सम्झौता भएको थियो। जसअन्तर्गत इरानले आफ्नो परमाणु कार्यक्रमलाई सीमित तुल्याउने प्रतिबद्धता जनाएको थियो।
सम्झौतापछि इरानविरुद्ध लगाइएका विभिन्न प्रतिबन्धहरु हटाइएका थिए।
फ्रान्सका राष्ट्रपति म्याक्रोँले ट्रम्पलाई सो सम्झौताबाट पछि नहट्नका लागि दबाब दिने ठानिएको छ। रुस तथा चीन दुवैले यसका लागि निरन्तर समर्थन पनि जनाइरहेका छन्।
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको सम्झौतालाई ट्रम्पले सधैं ‘खराब सम्झौता’ भन्दै आएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।