भैरहवा– २५६२औं बौद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको अवसरमा ३२ जनाले बौद्धसँग सम्बन्धित १३ वटा कार्यपत्र प्रस्तुत गर्ने भएका छन्।
लुम्बिनीमा आयोजना हुने सम्मेलनमा नेपाल १६ र विभिन्न देशका १६ जनाले १३ वटा विभिन्न शीर्षकमा बौद्धसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्ने लुम्बिनी विकास कोषले जनाएको छ।
प्रस्तुत कार्यपत्रहरुको निष्कर्षको रुपमा सम्मेलनको अन्त्यमा लुम्बिनी सम्मेलन घोषणापत्र २०१८ जारी हुने लुम्बिनी विश्वविद्यालयका उपकुलपति नरेशमान बज्राचार्यले बताए।
कोषले सोमबार लुम्बिनीमा पत्रकार सम्मेलनको आयोजना गरी बैशाख १५ देखि १७ गतेसम्म हुने बौद्ध सम्मेलन र बुद्ध जयन्ती तयारी तीव्र रुपमा भइरहेको जनाएको छ।
कोषका उपाध्यक्ष अवेधशकुमार त्रिपाठीले सम्मेलन र बुद्ध जयन्तीको सफलताका लागि सहयोग गर्न सरोकारवालाहरुलाई सहयोग गर्न आग्रह गरे।
उनले सम्मेलन आयोजना गर्न सरकारबाट रकम प्राप्त नभएको भन्दै कोषको आन्तरिक बजेटबाट ६ करोड विनियोजन गरिएको जानकारी दिए। उनका अनुसार ६ करोडमध्ये करिब ४ करोड रुपैयाँको लागतमा अस्थायी सभाहल निर्माण भइरहेको र बाँकी २ करोड रुपैयाँमा अन्य काम भइरहेका छन्।
कार्यक्रममा पूर्व पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री आनन्द पोख्रेलले लुम्बिनीको विकासका लागि लुम्बिनी, कपिलवस्तु हुँदै देवदहसम्म मोनोरेल सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए।
बौद्ध सम्मेलनमा थाइल्यान्ड, श्रीलंका, चीन, अमेरिका, भारत, मलेसिया लगायत २३ देशका बौद्ध विद्वानले सहभागिता जनाउने भएका छन्। २३ मध्ये १५ देशका धार्मिक तथा संस्कृति मन्त्रीहरुले नै सम्मेलनमा सहभागिता जनाउने कार्यक्रम रहेको कोषले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।