काठमाडौं- अघिल्लो सोमबार संसारका अधिकांश शेयर बजार सूचकमा ठूलो अंकको गिरावट आयो। संसारका ठूला शेयर बजारमा त्यसको किसिमको गिरावट आउनुमा कोरोनाको त्रासका कारण लगानीकर्तामा देखिएको मनोवैज्ञानिक असरका रुपमा विश्लेषण गरियो।
फाइनान्सिएल टाइम्सले यसलाई सन् २००८ को आर्थिक मन्दीपछिकै डरलाग्दो अवस्थाका रुपमा यसलाई चित्रण गरेको छ। बिबिसीले आफ्नो अनलाइन संस्करणमा 'ब्ल्याक मन्डे'मा संसारका लाखौँ मान्छेले अर्बौँ डलर गुमाएको उल्लेख गरेको थियो।
विश्व स्वास्थ्य संगठनले माहामारी घोषणा गरेको कोरोना भाइरस (कोभिड १९)को प्रकोप संसारभर देखिन थाल्दा विश्व अर्थतन्त्रमा यसको प्रभाव प्रष्टरुपमा पर्न थालेको छ। विश्व व्यापारको चक्र नै बिथोलिएको छ भने पर्यटन तथा होटल उद्योग ध्वस्त भएको छ।
संसारका ठूला बजारमा मानिसहरुको दैनिकी बदलिएको छ। यसको असर नेपालमा देखिन थालेको छ। कोरोनाको संभाव्य जोखिमका कारण नेपाल र चीनबीचको प्रत्यक्ष व्यापार बन्द भएको छ। भारतले सीमामा कडाइ थालेको छ। द्विपक्षीय व्यापार प्रणाली बन्द हुने अवस्थामा पुगेको छ।
संसारका ठूला उद्योगहरुले उत्पादनमा कटौती गर्न थालेका छन्। कतिपय देशहरुमा उनीहरुका आउटलेट तथा उद्योग नै बन्द भइसकेका छन्। अमेरिकासहितका देशहरुमा मानिसहरुले तीव्ररुपमा रोजगारी गुमाउन थालेका छन्।
'नेपालबाट सामान लिन गएका कन्टेनर चीनमा अड्किएका छन्, बजारमा सामान अर्डर गर्न कठिन भइसकेको छ,' नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका भन्छन्, 'प्रत्यक्ष असर पर्यटनमा देखिएको छ, तर अप्रत्यक्ष रुपमा धेरै क्षेत्रको चक्र नै खबलबलिएको छ। दुईपक्षीय व्यापार ध्वस्त हुन लागिसकेको छ।'
अक्सफोर्ड इकोनोमिक्सलाई उधृत गर्दै बेलायती पत्रिका दि गार्जिएनले कोरोनाका कारण विश्व अर्थतन्त्रले १० खर्ब अमेरिकी डलरभन्दा धेरैको क्षति पुर्याउने उल्लेख गरेको छ। यो वर्षको विश्व अर्थतन्त्रको वृद्धिदर १.३ प्रतिशतले प्रभावित हुने भन्दै उसले त्यसको प्रभाव १० खर्ब डलरभन्दा धेरै हुने उल्लेख गरिएको छ।
आर्थिक वृद्धिमा प्रत्यक्ष प्रभाव
सरकारले चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ। माघ अन्त्यमा बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वृद्धिदर लक्ष्यकै नजिक हासिल हुने बताएका थिए।
तर अब सरकारको त्यस लक्ष्यअनुसार वृद्धिदर हासिल नहुने निश्चित देखिएको छ। 'लक्ष्यअनुसार त अब आर्थिक वृद्धिदर हासिल हुँदैन तर अर्थतन्त्र ध्वस्त नै हुन्छ भन्ने होइन,' राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले भने।
एसियाली विकास बैंकले केही दिनअघि कोरोनाको प्रभाव उच्च रहे नेपालको अर्थतन्त्रमा ०.१३ प्रतिशतसम्म असर गर्ने प्रक्षेपण एसियाली विकास बैंकले गरेको छ। यस्तै अवस्था लम्बिरहे अर्थतन्त्र अझै कमजोर हुने धेरै अर्थशास्त्रीको प्रक्षेपण छ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मुख्य खाद्यबाली धानको उत्पादन गत वर्षको तुलनामा कम भएको जनाएको छ। राष्ट्र बैंकका अनुसार यो वर्ष धानको उत्पादन ५५ लाख ५१ हजार मेट्रिक टन भएको छ। यो उत्पादन गत वर्षको तुलनामा १ प्रतिशत कम हो।
पूर्वाधार क्षेत्रमा सुस्तता, पर्यटन क्षेत्रमा संकट, कमजोर वैदेशिक व्यापार र कृषि उत्पादनमा समेतमा भएको गिरावटले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर लक्ष्यअनुसार नहुने निश्चित देखिएको छ। सरकारले ८.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। विश्व बैंकले ६.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने जनाएको छ।
'मुख्य क्षेत्रहरु सबै कमजोर भएका छन्, यस्तो अवस्थामा मुलुकले निर्धारण गरेको आर्थिक वृद्धिको लक्ष्य हासिल नहुने देखिन्छ,' प्याकुर्याल भन्छन्, 'यो वर्ष ५.५ प्रतिशत आर्थिक वृद्धिदर भयो भने ठूलो कुरा हुनेछ।'
राष्ट्र बैंकको पूर्वसूचना
नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधी समीक्षामा विश्व अर्थतन्त्रमा आएको सुस्ती र चीनमा देखिएको कोरोना संक्रमणको प्रभाव अन्तर्राष्ट्रिय बजारमा तेलको माग र मूल्यमा देखिन थालेको उल्लेख गरिएको छ। पेट्रोलियम पदार्थको मूल्यमा आउने कमीले आयात व्यवस्थापनलाई सहज बनाउने भएता पनि विप्रेषण आप्रवाह प्रभावित हुने सम्भावना पनि छ।
'छिमेकी मुलुकलगायत विश्व अर्थतन्त्रमा आएको सुस्ती, विश्वका केही देशहरुमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्रमा पर्न सक्ने असर तथा वर्षेवाली धानको उत्पादनमा आएको कमीले आर्थिक वृद्धि प्रभावित हुने देखिएको छ,' राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको समीक्षामा भनेको छ।
राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरू पहिचान गरी त्यस्ता क्षेत्रहरूमा प्रवाह भएको कर्जामा पुनर्कर्जा सुविधा र पुनरसंरचना तथा पुनर्तालिकीकरणको व्यवस्थाहरूमा आवश्यकताअनुसार पुनरावलोकन गरिने पनि उल्लेख गरेको छ। यसको अर्थ केन्द्रीय बैंकले यो भाइरसका कारण अर्थतन्त्रमा पर्न सक्ने नकारात्मक प्रभावबाट जोगिने गरी गर्नुपर्ने काम बारे संभावित बाटो पनि देखाएको छ।
उद्योगदेखि पूर्वाधारसम्म समस्या
नेपालमा उत्पादन हुने अधिकांश वस्तुको कच्चा पदार्थ भारतसहित विभिन्न देशबाट आयात हुन्छन्। कोरोनाकै कारण चीन र नेपालबाट धेरै सामान आयात हुने तातोपानी र रसुवागढी भन्सार बन्द भैसकेका छन्। चीनबाट नेपाल सामान आयात हुने यी दुई नाका बन्द हुँदा तयारी वस्तु तथा औद्योगिक कच्चा पदार्थ आयात प्रभावित बनेको छ।
नेपालमा चीनबाट जलविद्युत आयोजनाका लागि प्रयोग हुने ठूला उपकरण आयात हुन्छन्। ती वस्तुहरुको आयात रोकिँदा जलविद्युत आयोजनाको काममा नै बाधा पर्छ। यसैगरी कोरोनाका कारण नाकामा कडाइ हुँदा भारतबाट हुने निर्यात पनि प्रभावित बनेको छ। डण्डीसहितका ठूला उद्योगका लागि ल्याइने कच्चा पदार्थ आयातमा समस्या हुँदा नेपाली उद्योग समस्यामा पर्ने उद्योगीहरु नै बताउँछन्।
सरकारी तथ्यांकअनुसार नेपालमा सञ्चालित विभिन्न आयोजनामा एकैपटक ८ सयजना चिनियाँ कामदार सुरुङभित्र निर्माण कार्यमा जुट्छन्। यसको अर्थ २४ घण्टाको ३ सिफ्टमा २४ सय जना चिनियाँ मजदूरमात्रै सुरुङभित्र काम गर्छन्।
'उपभोग्य तयारी वस्तु हुन् या औद्योगिक कच्चा पदार्थ, ती वस्तुहरुको आयात प्रभावित हुँदा हाम्रो औद्योगिक उत्पादनमा प्रतिकूल प्रभाव पर्छ,' अर्थशास्त्री प्रा डा विश्वम्भर प्याकुर्याल भन्छन्।
नेपालमा सञ्चालित विकास आयोजनामा चिनियाँ परामर्शदाता, ठेकेदार र कामदार कार्यरत छन्। राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्यतु आयोजना, गौतम बुद्ध विमानस्थल र पोखरा विमानस्थलको निर्माणमा चिनियाँ कामदार, ठेकेदार र परामर्शदाता कार्यरत छन्।
ध्वस्त पर्यटन
अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने सेवा क्षेत्रमा यो प्रकोपको सबैभन्दा ठूलो प्रभाव देखिएको छ। सरकारले महत्व दिएको नेपाल भ्रमण वर्ष २०२० का सम्पूर्ण कार्यक्रम रद्द भएका छन्। नेपालमा विदेशी पर्यटकको आवागमन ठप्प प्राय हुने अवस्थामा पुगेको छ। अहिले अधिकांश होटलको बुकिङ रद्द हुन थालेका छन्। होटलहरु १५-२० प्रतिशतमा मात्रै अकुपेसनमा सञ्चालनमा रहेका छन्।
'सरकारले नेपला भ्रमण वर्ष सम्पन्न गर्नका लागि गरेको लगानीको प्रतिफल नै प्राप्त नगरी सम्पूर्ण कार्यक्रम स्थगन गर्नुपर्यो,' अर्थशास्त्री प्याकुर्याल भन्छन्, 'अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने क्षेत्र नै शिथिल हुँदा यसको धेरे क्षेत्रमा असर पर्छ। मुलुकको कूल गार्हस्थ उत्पादनको वृद्धिदरदेखि रोजगारी सिर्जनासम्ममा समस्या पर्छ।'
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सेवा क्षेत्रअन्तर्गत भ्रमण आय शीर्षकमा सरकारले ४२ अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेको छ। वार्षिक करिब १ खर्ब रुपैयाँ आय हुने यो क्षेत्र कोरोनाबाट उच्च प्रभावित बनेको छ।
'कोरोनाको समस्या सधैं रहने होइन, हामीलाई अल्पकालीन क्षति भएको त छ तर दीर्घकालीन फाइदा लिने गरी सरकारले आन्तरिक पर्यटन विस्तार गर्ने र पर्यटन पूर्वाधार बढाउने गरी काम गर्नुपर्छ,' पर्यटन विज्ञ प्रचण्डमान श्रेष्ठले भने।
गरिबी बढ्ने जोखिम
सरकारले अबको पाँच वर्षमा निरपेक्ष गरिबी एकल विन्दू अर्थात् १० प्रतिशतभन्दा कममा झार्ने लक्ष्यसहित १५ औँ योजना तयार गरेको छ। अहिले १८ प्रतिशत निरपेक्ष गरिबी रहेकोमा यसलाई १० प्रतिशतभन्दा तल झार्ने लक्ष्य सरकारको छ।
नेपाल लाइभले अघिल्लो आइतबार प्रकाशित अन्तर्वार्तामा अर्थशास्त्री डा विश्व पौडेलले गरिबीबारे एउटा प्रसंग यसरी उल्लेख गरेका छन्:
आपूर्ति प्रणाली कमजोर हुँदै जाँदा त्यसले गरिबी बढाउँछ। विश्व बैंकका एकजना अर्थशास्त्रीले गरेको अध्ययनमा भूकम्प र भारतीय नाकाबन्दीले हाम्रो अर्थतन्त्रमा गरिबीको दर २० प्रतिशतबाट बढेर २८ प्रतिशत पुर्याएको देखिएको थियो। पछि अवस्था सामान्य हुँदा गरिबी घटेर २० प्रतिशत आएको भनेर देखाएका छन्।
त्यसमा विद्युत्को खपत आदिको अध्ययन गरिएको छ। त्यसो भन्नुको अर्थ आपूर्ति कम हुने बित्तिकै गरिबीको रेखाको छेउमा रहेका मान्छे गरिब हुन्छन्। उद्योगको योगदान कूल गार्हस्थ उत्पादनमा कम भएकाले त्यसमा धेरै असर नगर्ला। तर सेवा क्षेत्रमा ठूलो असर गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।