काठमाडौं– नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपका कारण अशान्त बाराको सिमरा बजार आज पनि तनावग्रस्त बनेको छ।
आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ नपरेको भन्दै जेनजी युवाले सिमरा बजार क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। बजार क्षेत्रमा ठूलो संख्यामा युवाको उपस्थिति रहेको छ।
सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको छ। झडपमा परेर दुवैतर्फका केही सामान्य घाइते भएका छन्। झडपको क्रममा युवाहरूले प्रहरीमाथि ढुंगाइँट्टा प्रहार गरेपछि प्रहरी पछि हटेको छ।
यसैबिच जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यू आदेश जारी गरेको छ।
बाराको सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको हो।
वीरगञ्ज-पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।