काठमाडौं– खराब सुरुवातका कारण पोखरा एभेन्जर्स एनपीएलको आफ्नो दोस्रो खेलमा पनि पराजित भएको छ । शुक्रबार सुदूरपश्चिम रोयल्ससँग १८ रनले पराजित भएको छ ।
सुदूरपश्चिमले भने लगातार दोस्रो जित निकाल्दै चार अंक बटुल्दै अंकतालिकामा पहिलो स्थान बनाएको छ ।
१९४ रनको विशाल लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रनमा समेटियो । ठूलो लक्ष्य पछ्याउने क्रममा पोखराले पहिलो पावर प्ले नै खराब सुरुवात गर्यो । ६ ओभरमा नै ३ विकेट गुमाउँदै २५ रन मात्र बनाएपछि त्यसपछि दबाबमा आयो ।
कप्तान कुशल भुर्तेल र जिम्मी निसमले आक्रामक पारी खेल्दै उकासे पनि निसम आउट भएपछि लगातार विकेट जान थाल्यो । सुमित वर्मा आउट भएपछि आएका अविशेक तिवारीले लगातार डट बल खेल्न थालेपछि अर्कोतिर दबाबमा रहेका भुर्तेलले अर्धशतक प्रहार गरे पनि बाउन्डी पार हान्ने दबाबले आउट भए ।
भुर्तेलले ३२ बलमा ५३ रन बनाए । यस्तै निसमले २५ बलमा ४७ रन बनाए भने डान दुथ्थवाइटले ३७ रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यता सुदूरपश्चिमका लागि बलिङमा हरमीत सिंहले २ विकेट लिँदा, स्कट कुग्लीजिन, दीपेन्द्र सिंह ऐरी, हेमन्त धामी, अविनाश बोहोरा र नरेन साउदले एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए । ३५ बल खेलेका उनले ६ चौका र पाँच छक्का हिर्काए । यस्तै विनोद भण्डारीले ४२ बलमा ४३ रन बनाए ।
क्रिश लेनले १३ बलमा चार चौका र २ छक्का प्रहार गर्दै ३१ बनाउँदा कप्तान दीपेन्द्र सिंह ऐरीले १० बलमा १५ रन बनाए । अन्य ब्याटरहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पोखरा एभेन्जर्सका लागि बलिङमा जेम्स निसमले ३ विकेट लिँदा आकाश चन्दले २ र डान दुथ्थवाइटले २ विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।