काठमाडाैं- भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडीबी)ले प्रोजेक्टको काम क्लियरेन्सका लागि थप ३ महिना मागेको छ।
विमानस्थलको निर्माणको काम अन्तिम चरणमा पुगेसँगै निर्माण कम्पनीलाई काम सम्पन्न गर्न केही समय लाग्ने भएपछि एडिबीले थप ३ महिनाको समय माग गरेको प्राधिकरण स्रोतको भनाइ छ। विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेसँगै फिनिसिङको काम सुरु भएको छ।
विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणअन्तर्गतका भौतिक संरचना निर्माणको काम सकिएको छ। टर्मिनल भवनमा फिनिसिङ र उपकरण जडानको काम सुरु भएकाे छ। यस्तो अवस्थमा केही उपकरण जडान र फिनिसिङको काम गर्न समय थपको तयारी भएको स्रोतले जनाएकाे छ।
आयोजनाको कार्यालयले पनि विमानस्थल सञ्चालनका लागि मार्चभित्र योग्य बनाउने गरी काम भइरहेको जनाएको छ।सरकारले पनि आउँदो बैशाखभित्र विमानस्थलमा परीक्षण उडान गर्ने तयारी गरेको छ। सरकारले २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’सँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता गरेको थियो।
सम्झौताअनुसार ठेकदारले २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको ‘आइसिबी–जिरो एक’ अन्तर्गतका भौतिक पूर्वाधारको सबै काम सक्नुपर्ने थियो। तर, निर्माण कम्पनीले समयमा काम नसकेपछि समय थप्दै सन् २०१९ को डिसेम्बरसम्ममा ठेकेदार कम्पनीले निर्माणको काम सक्नुपर्ने म्याद थप भएको थियो।
थप भएको समयभित्र पनि फिनिसिङको कामबाँकी रहने भएसँगै समय थपको तयारीसहित छलफल सुरु भएको संस्कृति, पर्यटन तथा नागरिकउड्डय मन्त्रालय स्राेत बताउँ छ। सरकारले ६ अर्ब २२ करोड रुपैयाँमा ‘आइसिबी–जिरो एक’ अन्तर्गत विमानस्थलको ३ हजार मिटरको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो।
उपकरण जडान हुँदै
विमानस्थलमा रन वे निर्माणको काम सकिसकेको छ भने प्रशासनिक भवन निर्माणको काम पनि लगभग सकिइसकेको छ। टर्मिनल भवनको मुख्य संरचनाको काम पनि सकिएको छ। विमानस्थलको टर्मिन भवनमा मार्बल, टायल, सिसिटिभी, एक्स–रे मेसिन जडानलगायतका काम सुरु भएको छ।
योसँगै निर्माण कम्पनीले अहिले कार पार्किङ क्षेत्रको काम थालेको छ। टर्मिनल भवनभित्र सेन्टल एसी स्टिम, डिस्प्ले बोर्ड, सिसिटिभी, यूपिएस, सञ्चार उपकरण, एक्स-रे मेसिन, फायरसम्बन्धी उपकरण जडानको काम पनि धमाधम भइरहेको छ।
टर्मिनल भवनमा रहने ८/१० वटा मुख्य उपकरणमध्ये ब्यागेज ह्यान्डिलिङ र लिफ्टको कामबाहेक अन्य उपकरण जडानको काम सुरु भइसकेको छ। ब्यागेज बेल्ट र लिफ्टको सामान पनि विदेशबाट आउने चरणमा छ.
यो काम पनि सामान आएको डेढ महिनाभित्र जडान सम्पन्न हुने आकलन गरीएको छ। ‘आगामी डिसेम्बर महिनाभित्र निर्माण कम्पनीले नेपाल सरकारलाई हस्तान्तरण गर्नका लागि एउटा किला ठोक्ने काम पनि बाँकी रहन मिल्दैन,’ स्रोत भन्याे, ‘थोरै पनि काम बाँकी रहेको अवस्थामा त्यसलाई सम्पन्न गर्न केही समय लाग्न सक्छ। तर, हाम्रो लक्ष्य डिसेम्बरभित्रै निर्माणका सबै काम सम्पन्न गर्ने नै थियो।
काम पनि केही बाँकी रहेको र हिसाब मिलानको काम पूरा गर्न पनि केही समय लाग्ने भएपछि ३ महिनाको समय थपको तयारी भएको छ। यसबाहेक विमानस्थल सञ्चालनका लागि अन्य निकायको व्यवस्थापन, प्रमाण पत्र, उडान क्यालिबेरेसन, टेस्ट ल्यान्डलगायतको काम भने थप समय अवश्य पनि स्रोतको दाबी छ। कार्तिक मसान्तसमममा विमानस्थलको भौतिक प्रगति ८२ प्रतिशतभन्दा बढी भएको छ।
बाँकी काम भनेको उपकरण जडान मात्र हो। यसमा ८ प्रतिशतको हाराहारीमा काम भइसकेको छ। सिभिलतर्फको ७ प्रतिशत काम बाँकी छ भने उपकरण जडानतर्फ करिब १० प्रतिशत काम बाँकी रहेको आयोजनको भनाइ छ।
योसँगै भिजिट नेपालभित्रै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान भएपनि अन्तर्राष्ट्रिय मापदण्ड र प्रक्रिया पूरा गर्दै विमानस्थल सञ्चालनमा गर्ने केही असहजता आउने अवस्था आएको छ। अब थप हुने ३ महिनाभित्रै कम्पनीले काम गरेकै अवस्थमा पनि जडित उपकरणको परीक्षण गर्न प्राधिकरणलाई ३० दिनको समय लाग्छ।
त्यस समयमा कम्पनीले प्रारम्भिक रिपोर्टमात्रै दिन्छ। कम्पनीले फाइनल रिपोर्ट दिन अर्को थप ३० दिनको समय पाउँछ। यी काम सकिए पनि लगत्तै विमानस्थल सञ्चालनमा ल्याउन पाइँदैन। यसका लागि फेरि एरोनटिकल इन्फर्मेसन पब्लिकेसन (एआइपी)मा प्रकाशित हुनुपर्छ।
यो प्रक्रियाका लागि ५६ दिनको समय लाग्छ।
कर्मचारी मागियो
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिमचरणमा पुगेसँगै विमानस्थल सञ्चालनका लागि आवश्यक कर्मचारी व्यवस्थापन गरिदिन सरोकारवाला निकायसँग अनुरोध गरेको छ। मन्त्रालयले विमानस्थल सञ्चालन गर्न कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनका लागि आवश्यक कर्मचारी दरबन्दी स्वीकृतका लागि अर्थलाई पत्रचार गरेको छ।
अर्थले पनि पर्यटन मन्त्रालयबाट आएको पत्रअनुसार भन्सार, क्वारेन्टाइन, अध्यागमन, सुरुक्षा र श्रमको लागि आवश्यक कर्मचारीको दरबन्दी स्वीकृतका लागि सामान्य प्रसाशन मन्त्रालयलाई अनुरोध गर्दै पत्र लेखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।