काठमाडौं– डेभिड वार्नर र साहिल पटेलबीच पहिलो विकेटका लागि भएको १०४ रनको साझेदारीमा काठमान्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डूले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनायो । वार्नरले ५० बलमा ६६ रन बनाए भने साहिलले ३६ बलमा ३८ रन जोडे । उनीहरूले १४ ओभरभित्रै शतकीय साझेदारी पूरा गरेका थिए ।
अन्तिमतिर सहान अराचिगेले १५ बलमा अविजित ३४ रन बनाएपछि काठमान्डूले प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो ।
लुम्बिनीका अभिषेष गौतम, शेर मल्ल र रुबेन ट्रम्पलमनले समान दुई विकेट लिए ।
चार खेलमा सात अंकसहित शीर्ष स्थानमा रहेको लुम्बिनी जित निकाल्दै प्लेअफ यात्रा निश्चित गर्ने लक्ष्यमा छ । काठमान्डू भने दोस्रो स्थानमा पुग्ने होडमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।