चितवन - नारायणगढ–मुग्लिन सडकको तुइनखोला सडक खण्डमा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले निर्माण कार्यलाई तीव्रता दिन तथा सम्भावित जोखिम न्यूनीकरण गर्न दैनिक पाँच घण्टा सवारी आवागमन रोक्ने निर्णय गरेको हो ।
जिप्रकाले जारी गरेको सूचनाअनुसार मंसिर १३ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म नारायणगढ–मुग्लिन सडक खण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ ।
विगतमा केही समय कार्यसूची भई स्थगित भएको नारायणगढ–मुग्लिन सडक आयोजनाको तुइनखोला खण्डमा पहिरो रोकथामका कामलाई अगाडि बढाउने क्रममा उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गरी यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।
सूचनामा उक्त अवधिमा सडक खण्डमा चल्ने सबै प्रकृतिका सवारीसाधनको आवागमन रोक लगाइने उल्लेख छ ।
यस निर्णयअनुसार काठमाडौं हुँदै मुग्लिन–आँबुखैरेनी भएर पोखरा जाने सवारीसाधनको आवागमन भने सुचारु रहने भएकाे छ ।
प्रशासनले यात्रु तथा सवारी चालकलाई समयअनुसार यात्रा व्यवस्थापन गर्न र वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।
सवारी आवागमन बन्द हुने समय तथा अन्य जानकारीका लागि जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, नेपाल प्रहरी तथा सडक डिभिजन भरतपुरसँग सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।