कालीकोट । कर्णाली राजमार्ग अतिक्रमण गरेर निर्माण भएका संचरना हटाउन निर्देशन दिएको छ । सडक डिभिजन, जुम्लाको कार्यक्षेत्र अन्तर्गत पर्ने कर्णाली राजमार्गको दैखोला–नाग्मा–जुम्ला सडक खण्ड र तथा नाग्मा–गमगढी सडक खण्डमा अतिक्रमण गरेर निर्माण भएका संरचना हटाउन सडक डिभिजन कार्यालय जुम्लाले निर्देशन दिएको हो ।
राजमार्गको दैखोलादेखि नाग्मा जुम्ला सडकमा र नाग्मा गमगढी सडक सीमा क्षेत्राधिकारभित्र पर्ने स्थानमा व्यापारिक मालसामान राख्ने, गाई वस्तु बाध्ने, बिस्कुन सुकाउने, निर्माण सामग्री थुपार्ने, सडक किनारामा अस्थायी वा खुद्रा व्यापार सञ्चालन गर्ने, टहरा, छाप्रा, घुम्ती, बार÷घेराबार लगायतका अस्थायी वा स्थायी संरचना निर्माण गर्ने काम भएकाले तत्काल हटाउन निर्देशन दिइएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त डिभिजन प्रमुख श्रवणकुमार महताराले बताए । ‘अतिक्रमणमा कर्णाली राजमार्गमा निर्माण भएका संरचना तत्काल हटाउन निर्देशन दिइएको छ,’ उनले भने, ‘निर्माण गरिएका संचरना नहटाए आवश्यक कदम चालिने छ ।’
सडकको नाली, पेटी वा अन्य संरचना अवरुद्ध हुने गरी सामग्री राख्ने काम गर्ने कारणले सवारी आवागमन, सडक सुरक्षा, सडक मर्मत सम्भार तथा निर्माण कार्यमा अवरोध भएकाले ती संचरना हटाउन निर्देशन दिइएको र सार्वजनिक सूचना जारी गरिएको निमित्त प्रमुख महताराले जानकारी दिए ।
उनले सबैको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको र ३० दिनभित्र सम्बन्धित व्यक्ति, संस्था वा निकाय आफैले हटाई सडक क्षेत्र खाली गराउन र आगामी दिनमा समेत सडक सीमा क्षेत्राधिकार भित्र कुनै पनि किसिमका सडक संरचनामा अवरोध पुग्ने कार्य नगर्न अनुरोध गरिएको निमित्त प्रमुख महताराले बताए । ‘सडक खण्डहरूको सडक सीमा क्षेत्राधिकार भित्र राखिएका मालसामान, निर्माण सामग्री, व्यापारिक सामग्री, अस्थायी संरचना तथा अन्य अवरोधहरू नगर्न भनिएको छ,’ उनले भने,‘यदी अटेर गरेर संरचना नहटाएमा आवश्यक कारबाही गरिनेछ ।’
सडक क्षेत्र खाली नगरेमा प्रचलित सार्वजनिक सडक ऐन, २०३१ तथा सम्बन्धित अन्य कानुन बमोजिम अनधिकृत संरचना तथा अवरोधहरू हटाउने र भत्काउने लगायतका आवश्यक कारबाही सडक डिभिजन कार्यालय गर्ने र सो कार्य गर्दा लाग्ने सम्पूर्ण खर्च समेत प्रचलित कानुन बमोजिम सम्बन्धित व्यक्ति, संस्था वा निकायबाट असुल–उपर गरिने निमिक्त प्रमुख महताराले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।