



काठमाडौं- भारतले असान्दर्भिक भइसकेको ठानेको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन बुभ्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तयार हुने आशा परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ । मन्त्रालयले यस विषयमा दुवै पक्षको सहमतिअनुसार आवश्यक प्रक्रिया अघि बढ्ने जनाएको छ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उक्त प्रतिवेदन दुवै प्रधानमन्त्रीसमक्ष पेस गर्न समय प्राप्त हुने अपेक्षा रहेको बताए ।
उक्त विषय पनि नयाँ म्यान्डेट र दृष्टिकोणअनुसार अघि बढ्ने उनको विश्वास थियो ।
प्रधानमन्त्री बालेनको भारत भ्रमणपछि भारतीय विदेश मन्त्रालयले चाहिँ ईपीजी प्रतिवेदन अब सान्दर्भिक नरहेको टिप्पणी गरेको छ ।
प्रवक्ता पौडेलले चार्हि सीमासम्बन्धी विषय जोइन्ट भिजन डकुमेन्टमा समेटिएको, संयुक्त स्थलगत निरीक्षण र सीमा स्तम्भ मर्मत–सम्भारको कार्य उल्लेख गरिएकाले परराष्ट्र र भारतीय विदेश सचिवस्तरीय बैठकमार्फत कूटनीतिक समाधान खोजिने जानकारी दिए ।
साउदी अरबको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट र जजान क्षेत्रमा भएका पछिल्ला दुई आक्रमणमा घाइते चार नेपाली नागरिकमध्ये रियादस्थित अस्पतालमा उपचारका क्रममा एक जनाको निधन भएको जानकारी मन्त्रालयले दियो । निधन भएका व्यक्तिको शव नेपाल ल्याउन आवश्यक प्रक्रिया सुरु गरिएको पौडेलको भनाइ थियो।
विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको र समस्याको समाधान शान्तिपूर्ण वार्ता तथा कूटनीतिक माध्यमबाट हुनुपर्नेमा मन्त्रालयको स्पष्ट जोड रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।