काठमाडौं– बलिङमा उत्कृष्ट सुरुवात गरेको काठमान्डू गोर्खाजले साविक विजेता लुम्बिनी लायन्सलाई ३६ रनले हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित निकालेको छ ।
शनिबार त्रिवि क्रिकेट मैदानमा १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमै समेटियो । पाकिस्तानी तीव्र बलर जहानन्द खानले चार विकेट लिएपछि लुम्बिनीको ब्याटिङ सुरुवातमै धराशायी बनेको थियो ।
जहानन्दले डार्सी सर्ट र आसिफ शेखलाई आउट गर्दै काठमान्डूलाई पहिलो सफलता दिलाए । कप्तान करण केसीले रोहित पौडेललाई शून्यमा पभेलियन फर्काए । त्यसपछि जहानन्दले निरोशन डिकवेला र दिलीप नाथलाई लगातार आउट गर्दा लुम्बिनी चार ओभरमा २१ रन जोड्दा पाँच विकेट गुमाउने अवस्थामा पुगेको थियो ।
सन्दीप जोराले ४४ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । जहानन्दले २३ रन खर्चेर चार विकेट लिए । करणले दुई तथा शाहब आलम र राशिद खानले एक–एक विकेट लिए ।
यसअघि डेभिड वार्नरको ६६ र साहिल पटेलको ३८ रनको मद्दतमा काठमान्डूले २० ओभरमा आठ विकेट गुमाएर १६० रन बनाएको थियो । वार्नर र साहिलले पहिलो विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए । सहान अराचिगेले अन्तिमतिर १५ बलमा अविजित ३४ रन जोडे ।
अघिल्लो संस्करणको च्याम्पियन लुम्बिनीको लगातार ११ खेलदेखिको अपराजित यात्रा पनि यही हारसँगै टुंगिएको छ । काठमान्डूले लगातार तेस्रो जितसँगै ६ अंक जोडेको छ । समान अंक भएको सुदूरपश्चिमलाई नेट रनरेटमा पछि पार्दै काठमान्डू दोस्रो स्थानमा उक्लिएको छ । सात अंकसहित लुम्बिनी शीर्ष स्थानमै छ ।
वार्नर खेलका प्लेयर अफ द म्याच घोषित भए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।