काठमाडौं- बंगलादेशले नेपालका डेढ दर्जन बढी जलविद्युत आयोजनाहरुमा लगानी गर्नका लागि चासो देखाएको छ। नेपाल-बंगलादेश संयुक्त प्राविधिक समिति (जेटिजी)को चौथो बैठकका क्रममा बंगलादेशका प्रतिनिधिहरुले नेपालका जलविद्युत आयोजनामा लगानीका लागि प्रस्ताव गरेका हुन्।
नेपाल र बंगलादेशबीच विद्युत व्यापार सम्झौता (पिटिए) भइसकेको छ। नेपालमा उत्पादित विद्युतको सम्भावित बजारका रुपमा हेरिएको बंगलादेशले आफैं उत्पादनमा संलग्न हुन चासो देखाएको हो। नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि तयार पारिने प्रशारण लाइन संरचना भारतको भूमिमा बन्ने भएका कारण यो विषयमा भारतको पनि भूमिका खोजिँदै आएको छ। यसका लागि त्रिदेशीय वार्ताको प्रयास गर्नुपर्नेमा नेपाल र बंगलादेशका प्रतिनिधिहरुको जोड रहेको बैठकमा सहभागी अधिकारीहरुले बताएका छन्।
बुधबार टुंगिने सहसचिवस्तरीय उक्त बैठकमा दुई देशबीच सहुलियतपूर्ण व्यापार सम्झौताका लागि तयार पारिएको प्रारम्भिक खाकामा सहमति जुटाइने जनाइएको छ।
गतवर्ष काठमाडौं मै भएको दुई देशका सचिवस्तरीय जोइन्ट स्टेयरिङ ग्रुपको बैठकमा दुई देशबीचको पारवहन र वाणिज्य सन्धिलाई प्राथमिकतामा राखिएको थियो। वाणिज्य तथा पारवहन सन्धिले तयार पारेको दुई देशबीचको व्यापारको मार्गदिशाका आधारमा सहुलियतपूर्ण व्यापारको विषयलाई बैठकको पहिलो प्राथमिकतामा राखिएको छ। यो बैठकबाट सहुलियतपूर्ण व्यापारका विषयमा हुने विस्तृत सम्झौताका लागि प्रारम्भिक खाकामा सहमति जुटाइनेछ।
नेपाल र बंगलादेशबीच २०३२ सालमा नै व्यापार, भुक्तानी तथा पारवहन सम्झौता भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा नेपाल र बंगलादेशबीच ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको देखिन्छ।
जसमध्ये बंगलादेशबाट नेपालामा ४ अर्ब २५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ भने नेपालबाट बंगलादेश १ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।