काठमाडौं- कर्मचारी संचय कोषको सुन्धारास्थित ‘ब्लक बी’ भवन र धरहरातर्फको अस्थायी टहरामा पसल व्यवसाय गरी बस्ने व्यवसायीको नाममा सूचना जारी गर्दै कोषले एक महिनाभित्र सबै पसल हटाइसक्न निर्देशन दिएको छ।
कोषको सुन्धारास्थित भवनसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट ऐतिहासिक धरहरा निर्माणको काम भइरहेको छ।
धरहरा निर्माणको गुरुयोजनामा कोषको ब्लक बी भवनसमेत पर्ने भएका कारण गत भदौ ४ गतेको मन्त्रिपरिषद निर्णयबाट सरकारको जग्गासँग कोषको जग्गा तथा भवन सट्टापट्टा गर्ने निर्णय भएको थियो।
त्यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असोज २८ गते भत्काउनुपर्ने भवन खाली गर्न कोषलाई पत्राचार गरेको थियो।
काठमाडौं मलको ब्लक बी भवन र धरहरातर्फ जोडिएका भवन बाहिरका अस्थायी टहराहरुमा बस्दै आएका व्यापारीलाई यो सुचना जारी भएको मितिले ३० दिनभित्र सम्पूर्ण बाँकी बक्यौता चुक्ता गरी भवन तथा अस्थायी टहराहरु खाली गर्न भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।