काठमाडौं- नेपाल–बंगलादेश संयुक्त प्राविधिक समिति (जेटिजी)को चौथो बैठक आज र भोलि (कात्तिक ५ र ६) गते काठमाडौंमा बस्ने भएको छ। सहसचिवस्तरीय उक्त बैठकमा दुई देशबीच सहुलियतपूर्ण व्यापार सम्झौताका लागि तयार पारिएको प्रारम्भिक खाकामा सहमति जुटाइने जनाइएको छ।
गत वर्ष काठमाडौंमै भएको दुई देशका सचिवस्तरीय जोइन्ट स्टेयरिङ ग्रुपको बैठकमा दुई देशबीचको पारवहन र वाणिज्य सन्धिलाई प्राथमिकतामा राखिएको थियो। वाणिज्य तथा पारवहन सन्धिले तयार पारेको दुई देशबीचको व्यापारको मार्गदिशाका आधारमा सहुलियलपूर्ण व्यापारको विषयलाई बैठकको पहिलो प्राथमिकतामा राखिएको छ।
यो बैठकबाट सहुलियतपूर्ण व्यापारका विषयमा हुने विस्तृत सम्झौताका लागि प्रारम्भिक खाकामा सहमति जुटाइनेछ।
नेपाल र बंगलादेशबीच २०३२ सालमा नै व्यापार, भुक्तानी तथा पारवहन सम्झौता भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा नेपाल र बंगलादेशबीच ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको देखिन्छ। जसमध्ये बंगलादेशबाट नेपालामा ४ अर्ब २५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ भने नेपालबाट बंगलादेश १ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको देखिन्छ।
उक्त बैठकमा सहभागी हुन गत असोज १७ गतेको मन्त्रिस्तरीय निर्णयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल संयोजक रहने गरी एक टोली गठन गरिएको थियो। टोलीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, र कृषि तथा पशपन्छी विकास मन्त्रालयका एक–एक जना सहसचिव वार्ता टोलीको सदस्यका रुपमा रहने गरी समिति गठन गरिएको थियो।
बैठकमा नेपालको तर्फबाट प्रस्तुत हुने विषयमा असोज २४ गते निजी क्षेत्रको समेत सहभागितामा विस्तृत छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।