काठमाडौं- २२ अर्ब रुपैयाँमा निर्माण गरिने देशकै पहिलो सडक सुरुङमार्गको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेका छन्। काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोलासम्म बन्ने सुरुङमार्ग ४२ महिनाभित्र निर्माण सम्पन्न गरिने योजना छ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँसहितको यो सुरुङमार्ग २.६८८ किलोमिटर लामो हुनेछ। नौबिसे–नागढुङगा सडकखण्डमा बन्ने सुरुङमार्गमा दुई फ्लाइओभरसहित ७ वटा पुल निर्माण गर्ने गरी डिजाइन तयार गरिएको छ।
२०१९ सेप्टेम्बर २३ मा सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा र जापानी कम्पनी हाज्माआन्दो कर्पोरेसनबीच निर्माण सम्झौता भएको थियो। सम्झौता अनुसार जापानी कम्पनीले ४२ महिनाभित्र सुरुङमार्ग तयार गरि नेपाललाई हस्तान्तरण गर्नेछ।
सम्झौंता हुनुअघि प्रधानमन्त्रीको सचिवालयले नेपालस्थित जापानको राजदूत र हाज्माआन्दो कर्पोरेसनका प्रतिनिधिलाई बोलाएर तोकिएकै समयमा निर्माण सक्नुपर्ने शर्त राखेको थियो। प्रधानमन्त्री ओलीले जापानी प्रविधिमा बन्न लागेको सुरुङमार्ग समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे। सुरुङमार्गको निर्माण सुरु भएसँगै देशमा पूर्वाधार विकासमा नयाँ आयाम थपिएको प्रधानमन्त्री ओलीको भनाइ थियो।
सुरुङमार्ग थानकोटस्थित किसिपढी खोल्सीदेखि सिस्नेखोलामा निर्माण हुनेछ। यसको लम्बाइ २.६८८ किमीको हुने र पश्चिमतर्फ ५ सय ६५ मिटरको एप्रोच लिङ्कसमेत निर्माण हुनेछ भने पूर्वतर्फ २ हजार ३ सय ७ मिटरको लिङ्क सडक निर्माण हुनेछ।
सुरुङमार्गसँगै समानान्तर हुने गरी स्केप्ट टनेल निर्माण हुनेछ। जुन प्रत्येक २ सय ५० मिटरमा मुख्य सुरुङमार्गसँग भित्रबाहिर गर्न मिल्ने गरी जोडिनेछ। भित्र दुर्घटना भए वा समस्या आए बाहिर निस्कनका लागि यो सडक प्रयोग हुनेछ। एम्बुलेन्ससमेत सहजै कुदाउन सकिने गरी स्केप्ट टनेल निर्माण हुनेछ।
सुरुङमार्गको प्रवेशमार्गसम्म पुग्नका लागि दुईवटा फ्लाई ओभर निर्माण हुनेछ। सातवटा साना पुल र ११ वटा बक्स कल्भर्ट निर्माण गर्ने गरी डिजाइन तयार पारिएको छ।
सुरुङमार्ग निर्माणले देशमा नयाँ कामको थालनी भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताए। सुरुङमार्ग निर्माणमा यो थालनी मात्र भएको भन्दै उनले भने, ‘अब देशका विभिन्न स्थानमा अध्ययन गरेर सुरुङमार्ग निर्माणको काम थालिने छ।’
सुरुङमार्ग बनेपछि काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी आवागमनमा सहज हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीको भनाइ छ। ‘हाल सञ्चालनमा रहेको सडक मार्गलाई थप चुस्त बनाई सुरुङमार्ग समेत सञ्चालन हुँदा आवागमन सहज हुन्छ,’ उनले भने, ‘यसले इन्धनको खपत कम हुनुका साथै सावरीमा लाग्ने पार्टपूर्जामा समेत बचत हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।