काठमाडौं- सरकारले काठमाडौंको तीनकुनेमा रहेको पार्कको सौन्दर्यलाई बचाइ राख्न त्यसको हेरचाह र सौन्यकर्यकरणको जिम्मा ३ वटा सरकारी बैंकलाई दिने तयारी गरेको छ।
चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपाल आउँदा सौन्दर्यकरण गरिएको पार्कलाई यही अवस्थामा राख्न राष्ट्र वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकलाई जिम्मेवारी दिन लागिएको हो।
राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको बैंक हो भने कृषि विकास र नेपाल बैंकमा सरकारको बहुमत शेयर छ। ३ वटै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्ने रकमलाई पार्क व्यवस्थापन र सौन्दर्यकरणमा प्रयोग गर्न लागिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत पार्कको व्यवस्थापनको काम अघि बढाउन आवश्यक लागत व्यहोर्ने गरी ३ वटा बैंकलाई कामको जिम्मेवारी दिन लागिएको हो।
पार्कको मासिक हेरचाह र व्यवस्थापनका लागि मासिक २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
हामी पार्कको सुरक्षा जसरी पनि गर्छौं, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, त्यसका लागि सिसी क्यामेरा जडानको काम पनि अघप बढिसकेको छ।
काठमाडौं महानगरपालिका र शहरी विकास मन्त्रालयसँगको सहकार्यमा पार्क भित्र रहेका वस्तुहरु बाहिर निकालेर सरसफाइ गरी थप फूल रोप्ने तथा दुबो बिच्छ्याउने काम पनि अघि बढाउन लागिएको छ। यसका लागि करिब ५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।
चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा सरकारले पार्कलाई सुन्दर बनाएको थियो। तर त्यसलगत्तै पार्कबाट फूल तथा दुबो चोरी भएको घटना बाहिर आएपछि सरकारले सशस्त्र प्रहरीलाई त्यसको सुरक्षाको जिम्मेवारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।