काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा-सिस्नेखोला सुरूङमार्गको शिलान्यास गरेका छन्।
सोमबार सुरूङमार्गको काठमाडौंतर्फको प्वाइन्टमा भएको कार्यक्रममा सो सुरूङमार्गको शिलान्यास भएको हो।
२ दशमलव ७ किलोमिटर लामो सुरुङमार्गको शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, खानेपानी मन्त्री बिना मगरलगायतको उपस्थित थिए।
जापान सरकारको ऋण सहयोगमा सुरुङमार्ग बन्न लागेको हो।
आयोजना प्रमुख श्यामप्रसाद खरेलका जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपालको ६ अर्ब रुपैयाँ लगानीमा सुरूङमार्ग बन्नेछ।
यसअघि जापानी कम्पनी हाज्मा आन्दो जेभीका प्रतिनिधिसँग सो सुरुङमार्ग निर्माण गर्ने सम्झौता भएको थियो।
मंसिर पहिलो साता (नोभेम्बर तेस्रो)बाट काम थाल्ने उक्त समयमा सहमति भएको थियो।
गत असारमै शिलान्यास गरेर निर्माण सुरु गर्ने लक्ष्य राखिएको भए पनि करिब ४ महिना ढिला निर्माण थालिने भएको हो।
ठेक्का सम्झौता भएपछि निर्माण कम्पनीले साईटमा क्याम्प बनाउने, मेसिनको व्यवस्था गर्नेलगायतका तयारी गरिएको थियो।
सरकारले नोभेम्बरसम्ममा साइट खाली गरिसक्नु पर्ने भएको छ। त्यसका लागि काठमाडौं र धादिङतर्फ मुआब्जा वितरणको काम सक्नु पर्ने चुनौती सरकार सामु छ।
काठमाडौंतर्फ मुआब्जा वितरण टुंगिएको भएपनि धादिङतर्फ बाँकी रहेको छ।
व्यक्तिका नाममा रहेको जग्गामा समस्या नभएपनि गुठी र लालपुर्जा नभएको जग्गामा समस्या देखिएको बताइएको छ।
मुआब्जाका विषयमा निर्णय भएको र निवेदन आउने क्रममा रहेको छ।
धादिङतर्फ सुरुङ मार्गका लागि १ सय ७ रोपनी जग्गामध्ये ४४ रोपलीको मात्र मुआब्जा दिनुपर्ने देखिएको आयोजनाको कार्यालयले जानकारी दिएको छ।
करिब ६ अर्ब रुपैयाँ मुआब्जा वितरणमा खर्चनु पर्ने र १६ अर्ब निर्माण लागत भएकाले सरुङमार्ग तयार हुँदा करिब २२ अर्ब पुग्नेछ।
जसमा १६ अर्ब जापानको सहुलियत ऋण सहयोग हुनेछ भने बाँकी ६ अर्ब रुपैयाँ नेपाल सरकारको व्यहोर्ने छ।
जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार पारिएको थियो।
नागढुङगा-नौबिसे सडकखण्डको किसिपिढी खोल्सीदेखि सिस्नेखोलासम्म करिब २.७ किलोमिटर सुरुङमार्ग निर्माण गर्न लागिएको हो।
जापानी कम्पनी हाज्मा आन्दो जेभीले सम्झौतापछि निर्माण थालेको ४२ महिनामा सुरुमार्ग तयार पारेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने तयारी गरेको छ।
अप्रिल २०२३ सम्ममा आयोजना सक्ने लक्ष्य लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।