काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले रौतहटमा भएको बम विस्फोटमा परेका घाइतेलाई जिउँदै इँटाभट्टामा पोलिएको विषयमा आयोगलाई जोडेर आएका समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ।
आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाका सम्बन्धमा आयोगले २०६५ मा अनुसन्धान टोली गठन गरी प्रतिवेदन पेस गरेको समेत दाबी गरेको छ।
२७ चैत २०६४ मा रौतहटको राजपुर फरदहवास्थित मोहम्मद अफताब आलमका आफन्तको घरमा बम विष्फोट भई २ जनाको मृत्यु भएको थियो।
विस्फोटमा परेका घाइतेलाई जिउँदै इँटाभट्टामा पोलिएको भन्दै उक्त घटनाको दोषी मानेर प्रहरीले संघीय संसदका सदस्य समेत रहेका आलमलाई २६ असोजमा पक्राउ गरेको थियो।
उक्त घटनाका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन अहिलेसम्म गोप्य राखेको खबर विभिन्न सञ्चार प्रकाशित भएपछि आयोगले ध्यानाकर्षण जनाएको हो।
आयोगले यो विषयमा पटक-पटक छलफल भई विभिन्न आदेशहरु समेत भएको र अध्यन प्रतिवेदनमाथि टेकेर नै सर्वोच्च अदालतबाट फैसलासमेत भएको उल्लेख विज्ञप्तिमा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।