काठमाडौं- निवर्तमान सभामुखसहित प्रतिनिधिसभाका तीन सांसद आइतबार एकैदिन अदालतमा उपस्थित भएका छन्।
निवर्तमान सभामुखसमेत रहेका नेकपा सांसद कृष्णबहादुर महरा, नेकपाकै अर्का सांसद पार्वत गुरुङ र नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमलाई आइतबार एकैदिन विभिन्न अदालतमा उपस्थित गराइएको हो।
जबरजस्ती करणीको प्रयासको आरोप लागेका निवर्तमान सभामुख महरा, कर्तव्य ज्यान मुद्दामा आलम र ज्यान मार्ने उद्योग मुद्दामा सांसद पार्वत गुरुङलाई अदालतमा उपस्थित गराइएको छ।
उनीहरुमध्ये दुई जनालाई म्याद थप गरी अनुसन्धान गर्न आदेश दिइएको छ भने एक सांसदलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।
अदालतले महरा र आलमलाई म्याद थप गरी अनुसन्धान गर्न र गुरूङलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ। महरालाई शनिबारबाट लागू हुने गरी पाँच दिन र आलमलाई पनि ५ दिन नै थुनामा राखी अनुसन्धान गर्न अदालतले भनेको छ।
महरा र गुरूङलाई काठमाडौं जिल्ला अदालतले तथा आलमलाई रौतहट जिल्ला अदालतले यस्तो आदेश जारी गरेको हो।
संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख महरालाई दोश्रो पटक अदालतमा हाजिर गराइएको हो। यसअघि उनलाई १३ दिन म्याद थप गरी अनुसन्धान गर्न अदालतले आदेश जारी गरेको थियो।
२० जनाभन्दा बढी व्यक्तिलाई जलाएर मारेको अभियोगमा १२ वर्षपछि पक्राउ परेका सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई पनि आजै अदालतमा उपश्थित गराइएको हो।
आइतबार न्यायाधीश चाणकमणि अर्यालको इजलासले आलमलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। यसअघि अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो।
आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि २६ गते (आइतबार) रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।
सत्तारुढ दलका सांसद पार्वत गुरुङसमेत जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्। उनलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ। अदालतले ३५ दिने म्याद जारी गरेपछि सांसद गुरुङ अदालतमा बयानका निम्ति उपस्थित भएका थिए।
दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंले ३५ दिने म्याद जारी गरेको थियो। उनको बयान सकिएपछि साधारण तारेखमा छाड्ने आदेश दिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।