काठमाडौं- गैरआवासीय नेपाली संघले भिजिट नेपाल २०२० प्रवर्द्धन गर्न भिजिट नेपाल सचिवालयसँग मिलेर ५० भन्दा बढी देशमा मिस एनआरएनए प्रतियोगिता संचालन गरिने भएको छ।
संघको नवनिर्वाचित कार्यासमितिसँगको छलफलमा भिजिट नेपाल सचिवालयले यस्तो सम्झौता गरेको हो।
भिजिटन नेपाल सभिवालयले मिस एनआरएनएसँग योसँगै १७ बुँदे सम्झौतासमेत गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको उपस्थितमा भिजिट नेपालको प्रवर्द्धनका लागि भिजिट नेपाल सभिवालय र संघबीच एमओयूमा हस्ताक्षर भएको हो।
१. संघले नेपाल भ्रमण वर्ष, २०२० का सन्दर्भमा विश्वभरबाट एक नेपालीले 'एक विदेशी साथी नेपाल पठाऊ अभियान' सञ्चालन गर्नेछ।
उक्त कुराको अभिलेखीकरण सचिवालय र संघले गर्ने व्यवस्था मिलाउने छ। सचिवालयले सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघसंस्थालाई सम्मान गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने।
२. संघले नेपाल भ्रमण वर्ष, २०२० अवधिभर संघका विश्वभर गरिने औपचारिक सेमिनार, गोष्ठी लगायतका कार्यक्रम नेपालमा नै गर्ने व्यवस्था मिलाउने। संघको आयोजनामा नेपालमा हुने विभिन्न गोष्ठी तथा सेमिनारहरुमा समन्वयात्मक भुमिका सचिवालयले निर्वाह गर्ने।
३. संघले विश्वभरी रहेका गैरआवासीय नेपालीहरुलाई सन् २०२० मा पाउने बिदा नेपालमै परिवार र साथीसँग मनाउने अभियान संचालन गर्ने।
४. संघले विदेश स्थित नेपाली दूतावास र नियोगहरुमा ‘भ्रमण वर्ष प्रवर्द्धन कक्ष’स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउने ।
५. नेपाल भ्रमण वर्ष, २०२० को प्रचार प्रसार गर्नका लागि सचिवालयको समन्वयमा संघले वर्षभर विश्वका प्रमुख शहरहरुमा कार तथा साईकल र्र्याली गर्ने।
६. संघका विश्वभरका सदस्य तथा विभिन्न नेपाली संघ संस्थामा आबद्ध रहेका नेपालीहरुको माध्यमबाट संघले उनीहरुको रोजगारदाता अर्थात व्यवसायिक साझेदार संघ संस्था तथा व्यक्तिहरुलाई नेपाल भ्रमणका निम्ति निमन्त्रणा गर्ने।
७. संघले गैरआवासीय नेपालीका विश्वभरिमा रहेका व्यवसायिक फर्महरु तथा होटेल रेस्टुरेन्टमा नेपाल सम्बन्धी आकर्षक प्रचार सामाग्रीहरु राखी प्रचारप्रसार गर्ने तथा प्रचार प्रसारका सामग्री वितरण गर्ने।
८. संघले विश्वभर छरिएर रहेको सम्पूर्ण सदस्य लगायतका नेपाली तथा विदेशी मित्रहरुका सवारी साधनहरुमा नेपाल भ्रमण वर्ष, २०२० लोगोसहितको स्टिकर टास्ने व्यवस्था मिलाउनेछ।
९. संघले विश्वभरिमा कम्तिमा ५० देशमा ‘मिस एनआरएनए अन्तर्राष्ट्रिय’आयोजना गर्ने र उक्त प्रतियोगिताको सन् २०२० जुनभित्रै नेपालमा गर्ने।
१०. सचिवालय र संघको समन्वयमा आगामी जनवरीको पहिलो हप्तामा हुने नेपाल भ्रमण वर्षको शुभारम्भ समारोहलाई सफल बनाउनका निम्ति सम्बन्धित देशका कुटनीतिक नियोगहरुसँग समन्वय गरी कार्यक्रम संचालन गरिनेछ।
११. संघले सम्बन्धित देशका सञ्चार माध्यमहरुमा डिजिटल मार्केटिङको व्यवस्था गर्ने छ ।
१२. सचिवालय र संघको समन्वयमा विश्वाभर रहेका नेपाली तथा विभिन्न संघसंस्थाहरुको सामाजिक सञ्जाल तथा वेवसाइटमार्फत भ्रमण वर्षसँग सम्बन्धित सकारात्मक सन्देश दिने सामग्रीको प्रवाह गरिने।
१३. संघले विश्वभरका विभिन्न देशहरुका सार्वजनिक स्थलहरु जस्तै बस स्टेशन, रेल्वे स्टेशन तथा प्रमुख पर्यटकीय क्षेत्रहरुमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार सामाग्री वितरण गर्ने, प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने छ।
१४. सचिवालयले सम्बन्धित देशका कुटनीतिक नियोगहरुको समन्वयमा ट्राभल एजेन्सी, टूर अपरेटर, मिडिया लगायतका कम्पनीहरु समक्ष आवश्यक छलफल गरी नेपालको प्रवर्द्धन गर्ने।
१५. सचिवालयले कुटनीतिक नियोगसँग समन्वय गरी सम्बन्धित देशमा वितरण गरिने प्रचारात्मक सामाग्री उत्पादन गरी वितरण गर्ने।
१६. सचिवालयले एक नेपालीले कम्तिमा एक विदेशी साथी नेपाल पठाउ अभियान अन्तर्गत संघसँग समन्वय गरी नेपाल भ्रमण वर्षमा आउने पाहुनाहरुका लागि विभिन्न किसिमको छुटको व्यवस्था मिलाउने ।
१७. उल्लेखित कार्यहरुमा लाग्ने आर्थिक श्रोतको प्रबन्ध संघले गर्ने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।