काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी ५ दिनका लागि २९ असोजमा म्यानमारको राजकीय भ्रमणका लागि प्रस्थान गरिन्।
म्यानमारका राष्ट्रपति उ विन मिन्त र स्टेट काउन्सिलर आङ साङ सुचीसँगको भेटघाटबाहेक खासै औपचारिक कार्यक्रम राष्ट्रपति भण्डारीका थिएनन्।
उत्तरी छिमेकी चीनबाट २३ वर्षपछि नेपाल भ्रमणमा आएका राष्ट्रपति सी चिनफिङले करिब डेढ दिनको समयमै महत्वपूर्ण भेटघाटदेखि द्विपक्षीय वार्ता गरेर डेढ दर्जन सम्झौता समेत गर्न भ्याएका थिए।
तर, ५ दिनको समय मिलाएर गएकी राष्ट्रपति भण्डारीसँग महत्वपूर्ण औपचारिक कार्यक्रम खासै नहुनु र दुवै पक्षको विशिष्ट तयारी पनि नहुनुले झिनामसिना काममा सहभागी भएर भ्रमणको औपचारिकता निभाउने बाहेक खासै केही प्रभाव छोड्ने काम हुन सकेन।
राष्ट्रपति भण्डारीले समय कटाउने मेलोमा म्यानमारको राजधानी याङ्गुनमा आयोजित लुम्बिनी फोटो प्रदर्शनीको उद्घाटन गरिन्। यस्तै उनले याङ्गुनस्थित श्वेदागोन पेगोडा अवलोकन र बुद्धपूजा समेत गरिन्।
बोग्योक आङ सन सङ्ग्रहालयको अवलोकन समेत गरेकी उनी नेपाली राजदूतावासले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी समेत भइन्। म्यानमारमा रहेका नेपाली मुलका समुदायसँग भेटघाट गर्नेसम्मका काममा राष्ट्रपति भण्डारीले समय दिइन्।
भ्रमणलाई संक्षिप्त र फलदायी बनाउनुपर्नेमा अर्थपूर्ण नहुने ठाउँमा पनि धेरै समय बिताउने गरेको भन्दै नेपाली नेताहरुको आलोचना हुने गरेको छ।
हेरौं म्यानमारमा फुर्सदिली राष्ट्रपतिका गतिविधि :
(सबै तस्बिरः रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।