काठमाडौं- कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि विश्वको ध्यान नेपालतिर आकर्षित भएको बताएका छन्। भ्रमणको सफलतासँगै खतरा पनि बढेको समेत नेपालले बताएका छन्। सीको भ्रमणपछि ठुला राष्ट्रका स्वार्थबाट आफूलाई जोगाईराख्नुपर्ने चुनौती थपिएको बताए।
सञ्चार केन्द्र नेपालले शनिबार राजधानीमा गरेको अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले सबै ठूला राष्ट्रका आ-आफ्ना किसिमका स्वार्थ हुने भएकाले ती स्वार्थ पूरा गर्ने माध्यम बन्नबाट आफुलाई जोगाईराख्नु मुख्य चुनौती भएको बताए।
नेपालले पञ्चशीलताको सिद्धान्तको आधारमा स्वतन्त्रता, स्वभिमान, आन्तरिक मामिलामा अहस्तक्षेपको सुनिश्चिता गर्दै छिमेकी राष्ट्रसंगको सम्बन्ध कायम गर्नुपर्नेमा उनले जोड दिए।
'धेरै माया गर्यो भने खत्रै हुन्छ जस्तो। किनभने सबका आफ्ना आफ्ना हित हुन्छन्। हरेक ठूला राष्ट्रहरुका आफ्ना स्वार्थ हुन सक्दछन। नेपाल यी सबै चिजबाट जोगिनुपर्छ। नेपालको स्वतन्त्रता, स्वभिमान आन्तरिक मामिलामा अहस्तक्षेप, पारस्परिक लाभको सिद्धान्तको आधारमा सम्बन्ध कामय हुनुपर्छ,' उनले भने।
गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि निर्वाचित पदाधिकारीलाई नेपालप्रतिको उद्देश्यमा स्पष्ट हुन आग्रहसमेत गरे। दोहोरो नागरिकता र राजनीतिक अधिकारको खोजीलाई उनले “चिचि पनि पापा पनि” को संज्ञा दिदै त्यस्तो सुविधा असंभव रहेको बताए।
'दुइवटा नाउमा खुट्टा राख्ने मान्छे सागर तर्न सक्दैन। चिची पनि पापा पनि हुँदैन। राजनीति गर्न खोजेको भए पहिला जनताको मन र विश्वास जित्नुहोस्। उद्देश्यमा क्लियर हुनुहोस्,' उनको आग्रह थियो।
नेता नेपालले पूँजी, सिप र प्रविधिको राम्रो प्रयोग गरेर मुलुकलाई आर्थिक रुपान्तरणको बाटोमा अग्रसर गराउनुपर्ने र त्यसका लागि बानी व्यवहारमा परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याएका उनले नियम कानुन खुकुलो बनाई लगानीमैत्री वातावरण श्रृजना गरी स्वदेशमै रोजगारीको अवसरहरु श्रृजना गर्नुपर्ने धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।