काठमाडौं– विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरुको २१ औं बैठक टर्कीको इज्मिरमा सुरु भएको छ।
बैठकलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट सम्बोधन गरिएको पार्टीका विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्। उनी सो बैठकमा नेकपाको प्रतिनिधित्व गरिरहेका छन्।
बैठकमा नेकपाको तर्फबाट गरिएको सम्बोधनमा जनताको चाहनाको पूर्तिका लागि कम्युनिस्ट सरकार र पार्टीले खेलिरहेको भूमिका, बहुदलीय व्यवस्थाप्रति नेकपाको दृढ विश्वास, प्रेस स्वतन्त्रता, नेपालको सामाजिक आर्थिक रुपान्तरणको विषयमा धारणाहरु राखिएको रिजालले नेपाल लाइभसँगको अनलाइन कुराकानीमा बताए।
बैठकमा ६० देशका ७५ कम्युनिष्ट पार्टीहरुको सहभागिता रहेको उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्।
बैठकको आयोजना टर्की र ग्रीसका कम्युनिष्ट पार्टीले संयुक्त रुपमा गरेका हुन्।
विश्वका सबै खालका कम्युनिस्ट पार्टीहरुको साझा मञ्चका रुपमा रहेको कम्युनिस्ट तथा श्रमिक पार्टीहरुको अन्तर्राष्ट्रिय बैठक (आइएमसीडब्लुपी) नामक उक्त मञ्च सन् १९९८ बाट हरेक वर्ष आयोजना हुँदै आएको छ।
सन् १९१९ मा लेनिनको नेतृत्वमा ‘कम्युनिस्ट इन्टरनेशनल’ स्थापना भएको सय वर्षको सन्दर्भ पारेर आयोजना गरिएको बैठकको मुल नारा ‘कम्युनिस्ट अन्तर्राष्ट्रिय स्थापनाको सयौं वार्षिकोत्सव : शान्ति र समाजवादका लागि लडाइँ जारी छ’ रहेको छ।
शुक्रबार सुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ।
बैठकको शुरुवात आयोजक टर्की कम्युनिष्ट पार्टीका महासचिव केमल ओकुयान र ग्रीस कम्युनिष्ट पार्टीका महासचिव दिमित्रिस कोत्सोम्वसले गरेका हुन्।
मुख्य बैठक अघि बिहीबार बसेको कार्यकारी समूह (वर्किङ ग्रुप) को बैठकले एजेन्डा तय गर्नुका साथै बैठकपछि जारी गरिने वक्तव्यको मस्यौदामा सहमति जुटाएको थियो।
विश्वका २५ वटा प्रमुख कम्युनिष्ट पार्टीहरु रहेको वर्किङ ग्रुपमा नेकपा सदस्य छ।
निर्वाचनबाट सत्तामा आएको विश्वको एक मात्र कम्युनिष्ट पार्टी भएकाले नेकपालाई विशेष रुपमा लिइन्छ।
कम्युनिष्ट प्रणाली भएका चीन, क्युवा, उत्तर कोरिया, भियतनाम र लाओसले पनि आ –आफ्नो देशको मौलिकता अनुसार समाजवाद निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।