काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद आफताव आलम मुद्दामा गरिने अनुसन्धानमा सहयोग हुने बताएका छन्।
शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा घटना घटेको १२ वर्षपछि सरकारले आलमलाई पक्रिएको भन्दै देउवाले असन्तुष्टि जनाएको समाचार सार्वजनिक भएको थियो।
'कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ नै', शनिबार देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, '१२ बर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ।'
उनले नेपाली कांग्रेस कानुनी राज्यमा विश्वास गर्ने भएकाले कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन नसक्ने प्रष्ट पारेका छन्।
'मोहम्मद आफताव आलम माथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसको सहयोग रहन्छ', विज्ञप्तिमा भनिएको छ, 'निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।