काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं आइपुगेका छन्। २ दिने नेपाल भ्रमणका लागि सी एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन्।
सी सवार एयर चाइनाको विशेष विमान अपरान्ह ४ः४७ मा अवतरण गरेको हो। यसअघि ४ः३० अवतरण हुने जनाइएको थियो। सी सवार विमान अवतरण भएको विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीले बताए। 'यसअघि अपरान्ह ४ः१० मा अवतरण गरेको विमानमा चिनियाँ डेलिगट्सहरु सवार थिए,' उनले भने, 'एयर चाइनाको दोस्रो विमानमा उनी सवार छन्। उक्त विमान भर्खरै अवतरण भएको छ।'
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सीको स्वागत गर्नेछन्।
सीले शनिबार राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नेछन्। यसैगरी पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेपछि उनी रात्रिभोजमा सहभागी हुनेछन्।
शुक्रबार भारतको यात्रामा निस्केका सी शनिबार त्यहाँको भ्रमण सकाएर चेन्नईबाट नेपालका लागि प्रस्थान गर्नेछन्। सीको स्वागतको लागि विमानस्थल तथा उनी बस्ने होटल सोल्टीसम्मको सडक दुवैतर्फ विशेष तवरबाट सिँगारिएको छ।
चिनियाँ राष्ट्रप्रमुखको नेपालमा औपचारिक भ्रमण हुन लागेको यो २३ वर्षमा पहिलो अवसर हो। यसलाई विशेषरुपमा लिँदै नेपाल सरकारले चिनियाँ राष्ट्रपतिलाई उच्चस्तरको आतिथ्यता प्रदान गर्ने तयारीसमेत गरेको छ।
यसअघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रमण गरेका थिए।
त्यसयता चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेका थिएनन्। सन् २०१६ मा सीले नेपाल भ्रमण गर्ने भनिए पनि स्थगित भएको थियो। सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपालको भ्रमण गरेका थिए।
सी आइतबार १ बजे स्वदेश फर्कने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।