काठमाडौं- चिनियाँ राष्ट्रपति सि चिनफिङको भ्रमणलाई मध्यनजर गरी काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
शनिबार बिहानैदेखि नेपाली सेना गस्तीमा खटिएको छ। फरक-फरक टोली बनाई सडकको विभिन्न भागमा सेनाका जवानले गस्ती गरिरहेका छन्।
सीलाई ४ तहको सुरक्षा घेरा
चिनियाँ राष्ट्रपतिको भ्रमणको सुरक्षाका लागि प्रहरीको थप शक्ति उपत्यका बाहिरबाट समेत ल्याइएको छ।
चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि चार तहको सुरक्षा घेरा बनाइएको छ। पहिलो घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र प्रहरी बल र चौथोमा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ। चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि चिनियाँ सेना समेत उनीसँगै आउने बताइएको छ। उनीहरुसँग नेपाली सेनाले संयोजन गर्नेछ।
नेपाल प्रहरीले सवारीसाधनको जाँचमा कडाइ गर्नुका साथै तीव्रता समेत दिएको छ। सडकमा ट्राफिक प्रहरीको संख्या उल्लेख्य मात्रामा बढाइएको छ। केही रुटका सार्वजनिक सवारीसाधनलाई बिहानदेखि नै रुट परिवर्तन गरी सञ्चालन गरिएको छ।
हर्न नबजाउन र पुराना सवारी नचलाउन ट्राफिक प्रहरीको अनुरोध
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूला मालबाहक सवारीसाधनलाई चक्रपथभित्र प्रवेश नगराउन अनुरोध गरेको छ। यात्रुहरुलाई मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गर्नसमेत आग्रह गरिएको छ।
चिनियाँ राष्ट्रपतिको भ्रमणलाई व्यवस्थित बनाउनका लागि ट्राफिक प्रहरीले सवारी चालकलाई हर्न नबजाउन आग्रह गरेको छ। साथै, पुराना सवारी सवारीसाधन सञ्चालन नगर्नसमेत भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।