काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङ २ दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन्। उनी सवार एयर चाइनाको विमान आज अपरान्ह साढे ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ।
शुक्रबार भारतको यात्रामा निस्केका सी शनिबार त्यहाँको भ्रमण सकाएर चेन्नईबाट नेपालका लागि प्रस्थान गर्नेछन्।
विमानस्थलमा सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नेछिन्। उनको स्वागतको लागि विमानस्थल तथा उनी बस्ने होटल सोल्टीसम्मको सडक दुवैतर्फ विशेष तवरबाट सिँगारिएको छ।

सडकका विभिन्न स्थानमा नेपाल र चीनको मित्रता झल्किनेगरी गेट बनाइएको छ भने फूलका गमलाले सडकका दुवै किनारा रंगीन बनाइएको छ। सडक कालोपत्रे गरिनुका साथै रंगरोगनसमेत गरिएको छ।
कुनै पनि चिनियाँ राष्ट्रप्रमुखको नेपालमा औपचारिक भ्रमण हुन लागेको यो २३ वर्षमा पहिलो अवसर हो। यसलाई विशेष रुपमा लिँदै नेपाल सरकारले चिनियाँ राष्ट्रपतिलाई उच्चस्तरको आतिथ्यता प्रदान गर्ने तयारी समेत गरेको छ।

यसअघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रमण गरेका थिए। त्यसयता चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेका थिएनन्। सन् २०१६ मा सीले नेपाल भ्रमण गर्ने भनिए पनि स्थगित भएको थियो। सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपालको भ्रमण गरेका थिए।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले नेपालकी समकक्षी, प्रमुख प्रतिपक्ष दलका नेता तथा उच्च पदस्थ अधिकारीहरुसँग समेत भेट गर्नेछन्। आइतबार १ बजे स्वदेश फर्कने उनले नेपाल रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।

नेपाल अवतरणपछि चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुनेछ। दुई समकक्षी बीचको भेट साँझ ६:३० मा हुनेछ। त्यसपछि सी र कांग्रेस सभापति देउवाबीच भेटवार्ता हुने कार्यक्रम तय भएको छ। देउवा र सीको भेटपछि राष्ट्रपति भण्डारीले सीको सम्मानमा विशेष रात्रिभोज आयोजना गर्नेछिन्।
आइतबार सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सीबीच भेटवार्ता हुनेछ। उनीहरुबीच बिहान १०ः३० मा भेट तय भएको छ।
त्यसलगत्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोली र सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलका बीचमा द्विपक्षीय वार्ता तथा सम्झौता एवं समझदारीपत्रमा हस्ताक्षरसमेत हुनेछ। सोपश्चात् उनी बेइजिङका लागि प्रस्थान गर्नेछन्।

सी भ्रमणका क्रममा शनिबार दिउँसो २:५५ बजेदेखि ५:२५ सम्म र आइतबार दिउँसो ११:२० बजेदेखि ३:५० सम्म विमानस्थल बन्द हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।