ओस्लो- इथियोपियाका प्रधानमन्त्री अबिया अहमदलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ। नोबेल कमिटीका अनुसार प्रधानमन्त्री अहमदले इथियोपियाको छिमेकी मुलुक इरिट्रियासँग वर्षौंदेखि जारी द्वन्द्व समाधान गर्न महत्वपूर्ण योगदान गरेबापत उक्त पुरस्कार दिइएको हो।
कमिटीले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री अहमदले इथियोपिया र इरिट्रियाबीच शान्ति स्थापना गर्न तथा अन्तर्राष्ट्रिय सहयोगका क्षेत्रमा निर्णायक भूमिका निर्वाह गरेको उल्लेख छ।
नर्बेजियाली नोबेल इस्टिच्युटले पनि सन् २०१८ देखि सत्तामा रहेका इथियोपियाली नेता अहमदले मुलुकमा महत्वपूर्ण सुधारात्मक कदम चालेको भन्दै प्रशंसा गरेको छ।
४३ वर्षीय प्रधानमन्त्री अहमदले गरिबी र द्वन्द्वको चपेटाबाट गुज्रिरहेको इथियोपियामा शान्ति र विकासको मूल योजनाका साथ अघि ब९ाउनुका साथै आर्थिक सुधारका धेरै महत्वाकांक्षी योजना अघि सारेका छन्।
उनका योजनाले प्रतिफल दिन थालेको इन्स्टिच्यूटकी अध्यक्ष बेरिट रेइस-एन्डरसनले बताइन्।
इरिट्रियालाई साथ लिएर शान्ति स्थापनामा सहयोग पुर्याएको भन्दै उनलाई नोबल शान्ति पुरस्कार प्रदान गर्न लागिएको थियो। इरिट्रिया इथियोपियाको दुश्मन देशका रुपमा परिचित थियो। दुई दशकसम्म रहेको दुई छिमेकी देशबीचको दुश्मनीलाई उनले किनारा लगाएका थिए।
सन् २०१८ मा प्रधानमन्त्री बनेका अहमदले उदारीकरणको सुरुवातसमेत गरेका थिए। जेलमा रहेका हजारौं विपक्षी कार्यकर्तालाई रिहा र निर्वासनमा रहेकालाई स्वदेश फिर्ता गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।