काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणलाई आर्थिकरुपमा फलदायी बनाउन सरकारले तयारी अघि बढाएको छ। राष्ट्रपति सीको भ्रमणको अवसरमा केही ठूला आयोजना आयोजनलाई गति दिने गरी सम्झौताको तयारी भइरहेको छ।
बिहीबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले भ्रणका एजेण्डा तथा सम्झौतालाई स्वीकृत गरिसकेको छ। 'हामी केही गेम चेन्जर आयोजनालाई अघि बढाउने गरी दुई देशबीच सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्दैछौँ,' दुई पक्षीय वार्ताका लागि एजेण्डा तयार गर्न संलग्न रहेका एक सरकारी अधिकारीले भने।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला हुने वार्तामा नेपालले सबैभन्दा महत्वका साथ काठमाडौं-केरुङ रेलमार्ग तथा चीन जोड्ने रणनीतिक सडकलाई प्राथमिकतामा राखेको छ। काठमाडौं-केरुङ रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न दुई देशबीच सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भएको ती अधिकारीले बताए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीका अनुसार सुरुमा तयार गरिएका करिब डेढ दर्जन आयोजनाको सूचीबाट केही आयोजना हटाएर १ दर्जन प्रस्ताव तयार गरिएको छ। 'सुरुमा हामीले धेरै आयोजनालाई सूचीमा राखेका थियौँ, अहिले अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयले त्यसबाट केही आयोजना हटाएर प्रस्ताव अन्तिम रुप दिइरहेका छन्,' उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी दुवैले उच्च महत्व दिएको केरुङ-काठमाडौं रेलमार्ग निर्माणका लागि चीनलाई सहमतिमा ल्याउने गरी प्रस्ताव तयार गरिएको स्रोतको दावी छ। यो आयोजनाको कूल लागतमध्ये ७५ प्रतिशत भन्दा धेरै रकम चीनलाई ब्यहोर्न आग्रह गर्ने तयारी नेपालको छ।
यसैगरी काठमाडौंको टोखाबाट नुवाकोटको छहरे जोड्ने गरी सवा ४ किलोमिटर लामो सुरुङमार्ग निर्माणका लागि पनि चीनलाई आग्रह गर्ने नेपालको तयारी छ। यो आयोजनालाई नेपालले दोस्रो प्राथमिकतामा राखेको छ। नेपाल र चीन जोड्ने रसुवागढी र तातोपानी नाका जोड्ने स्थलमार्ग स्तरोन्नती गर्न नेपालले प्रस्ताव राख्ने तयारी गरेको छ।
पश्चिम सेती जलविद्युत आयोजनाबाट चिनियाँ कम्पनी बाहिरिएपछि नेपालले फुकोट कर्णाली जलविद्युत आयोजना अघि बढाउन चीनलाई प्रस्ताव गर्दैछ। योसँगै नेपाल-चीन अन्तरदेशीय विद्युत प्रसारण लाइन पनि छलफलको एजेन्डामा पर्नेछन्। सरकारले बजेटरी सहायता दिन पनि चीनलाई आग्रह गर्ने तयारी गरेको छ।
'अहिले प्रस्ताव गर्न लागेका आयोजना कुनै न कुनै अध्ययन भइसकेका छन्, कतिपय आयोजना त तत्काल ठेक्का लगाउन सक्ने अवस्थाका पनि छन्,' स्रोतले भन्यो, 'यी आयोजनामा दुई पक्षीय सम्झौता गरेर अघि बढ्न सकियो भने छिटै केही नयाँ परिणाम दिन सक्छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।