काठमाडौं- सिन्धुपाल्चोकको भोटसिपा लिखु मोडमा भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये ५ जनाको पहिचान भएको छ।
मृत्यु हुनेमा काभ्रे बनेपाका केदार महाजु, इन्द्रवती गाउँपालिकका-९ का हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिकाकै रितेस आचार्य र काभ्रे पाँचखालकी संगिता पुरकोटी छन्। महाजु बसका चालकसमेत हुन्।
दुर्घटनामा ११ जनाको मृत्यु भएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तमाङले बताए। उनका अनुसार घाइतेहरुको उद्धार कार्य जारी छ। बाँकी मृतकको भने सनाखत भइसकेको छैन।
घाइतेहरुलाई हेलिकोप्टरमार्फत उद्धार भइरहेको र गम्भीर अवस्थाका तीन घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको उनले बताए।
इन्द्रावती गाउँपालिका-९, सिपाटारबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटनामा परेको हो।
बस सडकबाट करिब २ सय मिटर तल खसेको छ। बसमा सवार अधिकांश यात्रु दसैं मनाएर काठमाडौं फर्किंदै गरेका थिए।
बसमा ७० भन्दा धेरै यात्रु रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। सडकबाट उद्दार सम्भव नभएकाले नेपाली सेनाको हेलिकोप्टर पनि उद्धारका लागि घटनास्थल पुगेको अध्यक्ष तमाङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।