काठमाडौं– पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ पछि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले संविधान, कानुन र राज्यको नजरमा सबै बराबर रहेको पुष्टि भएको बताएका छन्। यसले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सभामुखलाई समेत उन्मुक्ति नहुँदोरहेछ भन्ने पुष्टि गरेको बताउँदै सभामुख निवासबाट सिधै अभियुक्तका रुपमा सिंहदरबार प्रहरी वृत्तसम्मको दृष्य कानुनी राजको दुनियाँसामु प्रस्तुत एक सटीक दृष्टान्त रहेको बताए।
फेसबुकमा स्ट्याटस लेख्दै उनले उल्लेख गरे, 'एक महिलाद्वारा जिउदै मरेतुल्य बनाइएका रोल्पाली कृष्ण (!?) कृष्ण लीलाको आरोपले मात्र निम्त्याएको यो अकल्पनीय परिणाम ! सभामुख निवासबाट सिधै अभियुक्तका रुपमा सिंहदरबार प्रहरी वृत्तसम्म- कानुनी राजको दुनियाँसामु प्रस्तुत एक सटीक दृष्टान्त।'
यसबाट 'सानालाई ऐन ठूलालाई चैन' भयो भनेर कोकोहोलो मच्चाई नथाक्नेहरू नाजवाफ भएको बताउँछन्। 'सम्माननीय' ( पूर्व सभामुख महरा) नै कानुनको कठघरामा परेपछि आसेपासेका सबै बचाउ प्रयास अर्थहीन रहेको जनाए। उनले भने, 'छोराहरूले पहिले 'युद्ध'मा खिचेका तस्बिरहरू पोष्ट गरी सिर्जना गर्न खोजेको आतंकसमेत निर्वस्त्र। कानुनी उपचारमा सफाइ पाए निर्दोष, अन्यथा अभियुक्तबाट अपराधी हुने साँघुरो विकल्प।'
रक्सी बोकेर एक रोशनीका कोठामा पुगेबापत दसैं मान्नसमेत नपाइ पक्राउ र पुर्पक्षका लागि प्रहरी हिरासतको कठोर नियति भोग्नुपरेको बताए। तर हिजो पारस शाहले रक्सी धोकेर चलाएको गाडीले सम्साँझै प्रिय गायक प्रवीण गुरूङको ज्यान लिएको घटनालाई राजतन्त्रमा लुकाइएको दृष्टान्त अघि सारे। उनले भने, 'राजा वीरेन्द्रसामू शाहज्यादा पारसमाथि कारबाही गर्न प्रस्तुत लाखौ हस्ताक्षरको के हविगत भएको धियो ? अझ २०५९ असोज १८ पछि दशैँको टीकाको दिन रोजेर उनै अभियुक्तलाई 'युवराजधिराज' घोषणा गरिएको होइन र?'
हत्यारालाई राजगद्दीको उत्तराधिकारी अर्थात् भविष्यमा राष्ट्रप्रमुख बनाउन त्यसढंगको निर्लज्ज घोषणा गरिएकाजस्तै अनेकन उल्टोमतिका जनविरोधी निर्णयकै कारण २४० बर्ष लामो शाहवंशीय राजतन्त्रको जरा नै नेपाली जनताले उखेलेर फालेको बताउँछन्। उनी भन्छन्, 'सामन्ती राजतन्त्र र गणतन्त्रबीच कानुनी राजको अभ्यासमा कति ठूलो अन्तर हुँदोरहेछ। विगतको मण्डले राजको प्रेतका रूपमा छटपटाइरहेकाहरूले यति त व्यवहारमै हेर र बुझ।'
थापाको प्रतिक्रियामा सही जनाउँदै इन्सेकका पूर्व अध्यक्ष सुवोधराज प्याकुरेलले जनयुद्धमा सवै असल मनसायले लागेका मात्र नभएको टिप्पणी गरेका छन्। उनी भन्छन्, 'त्यहॉ क्रान्ति मात्र थिएन। कैयन यौनदासीको पीडा आँशुको विभत्स अन्तर्य पनि थियो। उच्च ओहदाका नेता कमिसार र अल्लारे लडाकूको चरम ज्यादती पनि थियो। कैयन कारवाहीमा परे। केही मारिए पनि। घटनाको अभिलेख छ र पीडित ज्युँदै छन् पनि।'
उनले रोशनीको २ वर्षदेखि झण्डै दशकसम्मको स्टाटस हेर्न र गम्न सुझाएका छन्। त्यसले विद्रुप ज्यादति र पार्टीको नाममा विभत्स आतंकको निरन्तरताको आख्यान बोलेको बताएका छन्। उनले भने, 'यो विषय गम्भीर बिषय हो। पार्टी होइन, आपराधिक प्रवृत्तिको कुरा हो। संस्थागत हैसियतको निकृष्टतम दुरुपयोगको चित्र हो। पार्टी एकाध दर्जावालाको बपौति होइन। सम्पूर्ण नागरीकको साझा आस्था हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।