काठमाडौं- चीनले काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्ग बनाइदिने भएको छ। ४.१७ किलोमिटरको यो सुरुङमार्ग चीनले अनुदानमा निर्माण गरिदिने भएको हो।
चीनको केरुङबाट काठमाडौं जोड्ने सहज सडक आयोजनाका रुपमा यसलाई अघि बढाउन लागिएको र यो आयोजना अनुदानमा निर्माण गरिदिन चीन सहमत भएको अर्थ मन्त्रालयसम्बद्ध स्रोतले जानकारी दिएको छ। 'हामीले अनुदानमा निर्माणको प्रस्ताव गरेका थियौँ, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको बेला निर्माण सम्झौता हुँदैछ,' अर्थ मन्त्रालय स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
सरकारले चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला १० वटा आयोजना 'गिफ्ट'का रुपमा माग गर्ने तयारी गरेको छ। त्यसमध्ये यो आयोजना अनुदानमा निर्माणको सम्झौता गर्नेगरी अन्तिम गृहकार्य भइरहेको छ। 'सम्झौताको अन्तिम गृहकार्य चलिरहेको छ,' स्रोतले भन्यो।
काठमाडौंको सामाखुसिदेखि नुवाकोटको छहरेसम्मको बाटो स्तरोन्नतिका लागि सरकारले केही समयअघिदेखि प्राथमिकता पनि दिँदै आएको छ। काठमाडौंबाट चीनको नाका केरुङ जोड्ने सबैभन्दा छोटो रुटका रुपमा हेरिएको सुरुङमार्ग निर्माणलाई पनि सरकारले प्राथमिकताको माथिल्लो सूचीमै राखेको छ। यो आयोजना निर्माण सम्पन्न गर्न करिब ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
सरकारले यो आयोजनाको विस्तृत अध्ययन १ वर्षमा सकिने र निर्माण थालेको ५ वर्षमा आयोजनाको काम सम्पन्न हुने अनुमान गरेको छ। सुरुङमार्गसँगै सरकारले ३४ किमी सडकको ४ लेनमा विस्तार गर्ने योजना अघि सारेको छ।
नुवाकोटको थान्सिङदेखि रसुवागढीतर्फको सडक ४ लेनमा विस्तार गरी दुई देश जोड्ने नाका सहजरुपमा सञ्चालन गर्ने योजना सरकारको छ। काठमाडौंबाट नुवाकोटको छहरे हुँदै त्रिशुली नदीको किनारै-किनार रसुवाको स्याफ्रुबेसिसम्मको सडक ४ लेनको बनाउने र यही बीचमा एउटा सुरुङ निर्माण गर्नेगरी काम अघि बढाउन लागिएको हो।
चिनियाँ राष्ट्रपति सि असोज अन्तिम साता काठमाडौं भ्रमणमा आउने तय भए पनि मिति भने सार्वजनिक गरिएको छैन। सरकारले सि भ्रमणलाई मध्यनजगर गर्दै पूर्वाधारका १० वटा आयोजना निर्माण गरिदिन चीनसमक्ष प्रस्ताव गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।