भैरहवा- दसैं, तिहार र छठको आगमनसँगै सीमा क्षेत्रमा चाडपर्वको चहल पहल बढेको छ। केही दिनदेखि सुनौली नाका हुँदै भारतलगायत तेस्रो मुलुकमा रोजगारी गरी नेपाल फर्किनेको संख्यामा ह्वात्तै वृद्धि भएको छ।
रोजगारीका लागि भारतका विभिन्न ठाँउमा रहेका नेपाली दसैं लागेसँगै टिका, जमरा तथा ठूलाबडाको आशिर्वाद थाप्न नेपाल फर्किएका हुन्।
दसैं मनाउन दैनिक सयौंको सङख्यामा नेपाली सीमानाका सुनौली हुँदै नेपाल भित्रिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरिक्षक कमल बेल्वासेले नेपाल भारत मैत्री बस तथा भारतीय सरकारी बसमा आउने नेपालीको सङ्ख्या बढ्दो मात्रामा भएको बताए।
उनले भारतलगाएतका देशबाट आउने नेपालीहरु पछिल्लो समय सचेत हुने गरेका कारण पनि लुटपाटका घटनामा पनि कमी आएको बताए।
अर्कोतर्फ चाडपर्वका लागि सीमावर्ती भारतीय बजार सुनौलीमा किनमेल गर्न जाने नेपाली उपभोक्ताको पनि घुइँचो लाग्ने गरेको छ।
घर फर्किने र सामान किनमेल गर्न भारतीय बजार पुग्ने नेपाली उपभोक्ताको भीडले सीमा नाकामा चहलपहल बढेको हो। किनमेल गर्न आउने नेपाली उपभोक्ताका कारण बेलहियामा घण्टौं जाम लाग्ने गरेको छ। बेलहियामा भारतीय बजार सुनौलीबाट सामान किनेर फर्किनेको लाम लाग्ने गरेको छ।
भारतको दिल्ली, मुम्बई, काश्मीर, हरियाणा, भोपाल, कानपुर, लखनऊ, मद्रास, केरला, पञ्जाब, राजस्थान, इलाहाबादलगायत सहरमा रोजगारी गरी बालबच्चा र परिवारका साथ दसैं मनाउन सुनौली नाका हुँदै घर आउने गरेका छन्। रोजगारी गर्ने मात्रै नभई भारतका विभिन्न स्थानमा अध्ययनरत नेपाली विद्यार्थीको आगमन पनि अहिले बढ्दो छ।
चाडपर्वका बेला भित्रिएका यात्रुलाई समस्या हुन नदिन र सहयोग गर्न नेपाल भारत सीमा नाकाको दशगजामा सशस्त्र प्रहरीको सहकार्यमा सम्युक्त सहायता कक्ष तथा भैरहवा भन्सार कार्यालय परिसर अगाडि नागरिक सहायता कक्षको स्थापना गरिएको छ।
चोरी, पाकेटमार, नशालु पदार्थको प्रयोग गरी यात्रुलाई लठ्याएर लुट्ने, रिक्सा र गाडीवालाले अत्यधिक भाडा लिने, यात्रु मिलाइदिएबापत कमिसन खाने व्यक्ति सक्रिय हुने गरेकाले यसलाई रोक्न सहायता कक्ष स्थापना गरिएको हो।
.JPG)
विगतमा भारतबाट आउने क्रममा विभिन्न ठाँउमा लुटपाट लगाएतका घटना हुने गरेका भए पनि यसपटक भने त्यस्ता कुनै पनि समस्या झेल्न नपरेको भारतबाट फर्किँदै गरेका नेपालीहरुले बताएका छन्।
भारतको दिल्लीबाट दसैंका लागि टीका लगाउन घर फर्कँदै गरेका पोखराका ऋद्धि श्रेष्ठले आफू सहज तरिकाले नेपाल आएको बताए। उनले विगतमा लुटपाटका घटना हुने गरेको सुने पनि यस पटक भने त्यस्ता कुनै घटना घटेको थाहा नपाएको बताए।
रूपन्देहीका अधिकांश स्थान र पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासीको सुनवल, परासी, बर्दघाटदेखि दसैंका लागि सामान खरिद गर्न सुनौली जाने नेपाली उपभोक्ता हजारौंको संख्यामा छन्।
साबुन, सरफ, बिस्कुट, नमकिन, भुजिया, काजु, किसमिसलगायत खाद्यान्न, खाने तेल, घिउ, कुर्ता सलवार, साडी र अन्य शृंगारका सामान भारतीय बजारबाट फर्कँदा नेपाली उपभोक्ताले ल्याउने गरेका छन्।
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।