काठमाडौं- सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणलाई लक्षित गरी काठमाडौंका केही सडकलाई चिल्लो पार्ने कार्य थालेको छ। नेपाल तथा चीन दुवै सरकारले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको औपचारिक तालिका सार्वजनिक नगरेको भए पनि सी असोज अन्तिम साता काठमाडौं आउने बताइएको छ।
सरकारले चिनियाँ राष्ट्रपति नेपाल आउँदा निर्माणको प्रस्ताव गरिने परियोजनाको टुंगो लगाउने काम समेत गरिसकेको छ। सीको भ्रमणलाई लक्षित गरी सरकारले काठमाडौंका सडकमा पिच थपेर चिल्लो पार्ने कामलाई तिब्रता दिएको छ।
विशिष्ट विदेशी पाहुना आउँदा सरकारले उनीहरुको सवारी हुने रुटको सधैँजसो सडक चिल्लो पार्ने गरेको छ। यो पटकको सीको नेपाल भ्रमणमा पनि यस कार्यले निरन्तरता पाएको छ। सीको भ्रमणपूर्व नै काठमाडौंमा सडकको खाल्डा पुर्ने र कालोपत्रे गर्नेेदेखि असरल्ल तार व्यवस्थापनसम्मको काम गर्न सरकारले मातहतका निकायलाई निर्देशन दिइसकेको छ।
सी नेपाल रहँदा सोल्टी क्राउन प्लाजा (सोल्टी होटल)मा बस्ने अनुमान गरिएको छ। त्यहीअनुरुप एयरपोर्टदेखि सोल्टी होटल, सोल्टीदेखि राष्ट्रपति निवास तथा सीले नेतासँग भेटघाट गर्ने स्थानसम्मको सडक पिच गर्ने कामलाई उच्च प्राथमिकता दिइएको देखिन्छ। सडक विभागले भने यो कामलाई निरन्तरको काम भनको छ।
पानी पर्न रोकिएकाले दसैंअघि सडकका खाल्डा पुर्ने र भत्किएको सडकमा पिच गर्ने काम भइरहेको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले बताए। ‘सडक विभागले आफ्नो नियमित काम गरिरहेको हो,’ उनले भने, ‘पानी रोकिएसँगै दसैंअघि काठमाडौं उपत्यकासहित देशभर सडकका खाल्डाखुल्डी पुर्ने र पिच गर्ने काम भइरहेको छ।’ सडक विभागले राजनीतिक विषयलाई लिएर काम नगरेको उनको भनाइ छ।

एयरपोर्टदेखि नयाँ बानेश्वर हुँदै सोल्टी होटलसम्मको सडकलाई उच्च महत्वका साथ काम भइरहेको सडक विभाग स्रोतले बतायो। विभागका अनुसार पानी रोकिएकाले दसैंअघिबाटै काठमाडौंका मुख्य सडकहरुमा खाल्डा पुरेर कालोपत्रे गर्नेदेखि पेटीहरुमा रंगरोगनका काम थालिएको छ। त्यस्तै, सीको भ्रमणमा पर्ने अन्य रुटका सडकलाई समेत प्राथमिकतामा राखेर मर्मत थालिएको छ।
यस्तै, दूरसञ्चार प्राधिकरणले पनि बिजुली तथा टेलिफोनका खम्बामा अव्यवस्थित रुपमा झुण्ड्याइएका इन्टरनेट तथा केवल तारहरु हटाउन दिर्नेशन दिएको हो। गत आइतबार एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले दसैंअघि नै यस्ता तार हटाउन भनेको छ।
जताततै असरल्ल देखिने तारका कारण सहरको सुन्दरतामै असर परेको र आगलागी तथा दुर्घटना बढेको भन्दै प्राधिकरणले सेवा प्रदायकलाई तुरुन्तै काम थाल्न भनेको छ। ‘सहरलाई सुन्दर राख्न तथा आम-नागरिकलाई सुरक्षित एवम् व्यवस्थित रुपमा सेवा दिन अव्यवस्थित, असुरक्षित तथा सहरलाई नै कुरुप बनाउने गरी जडान भएका तारहरुलाई आगामी बडादसैं अगावै व्यवस्थापन गरी सहरको सुन्दरता कायम गर्न गराउन सम्बन्धित सबैलाई अनुरोध गर्दछौं,’ प्राधिकरणले जारी सूचनामा भनिएको छ।
अव्यवस्थित रुपमा रहेका तारहरु टाँग्ने तथा तारालाई सडक वारपार गराएको पाएमा कानुनी कारबाही गर्ने प्राधिकरणले जनाएको छ। काठमाडौं महानगरपालिकालाई समेत सडक सफा बनाउन र सडक किनारा तथा बीच भागमा रहेको हरियाली क्षेत्रलाई व्यवस्थित गर्न भनिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।