भैरहवा- सुनचाँदी व्यवसायीहरुले व्यवसायिक सुरक्षाको प्रत्याभुति हुन नसकेको गुनासो गरेका छन्। आफूहरुको व्यवसाय एकदमै संवेदनशील हुँदाहुँदै पनि सुरक्षाको प्रत्याभुति हुन नसक्दा व्यवसाय सहज ढंगले सञ्चालन गर्न कठिनाइ भएको उनीहरुको भनाइ छ।
मुख्य सहर-बजारमै रहेका सुनचाँदी पसलहरुमा पटक-पटक चोरी हुँदा पनि चोरीमा संलग्नहरु पक्राउ नपर्नुले व्यवसायीहरुमा त्रासको स्थिति सिर्जना भएको व्यवसायीहरुको गुनासो छ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगर, रुपन्देहीद्वारा भैरहवामा आयोजना गरिएको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत ११४० तथा छठपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा स्वागत कार्यक्रम बोल्ने व्यवसायीहरुले यस क्षेत्रमा विशेषगरी सुनचाँदी पसलमा चोरीका घटना बढेकोले व्यवसायिक सुरक्षाको प्रत्याभुति हुनुपर्ने माग गरे।
उनीहरुले व्यवसायिक सुरक्षा नभएसम्म सहज ढंगले व्यवसाय सञ्चालन गर्न समस्या रहेको बताए।
कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रेमकुमार सेञ्चुरीले सुनचाँदी पसलमा चोरी हुँदा चोरी गर्ने व्यक्तिहरु कानुनी दायरामा आउन नसकेको धारणा राखे। उनले व्यवसायीले आफ्नो पसलमा सिसिटिभी क्यामेरा जडान गरे पनि चोरीको घटना नरोकिएको जिकिर गरे।
रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एमबी विश्वकर्माले सुनचाँदी पसलमा चोरी र लुटपाट हुँदा आजसम्म पनि लुटिएका सामानहरु फिर्ता नभएको र व्यवसायीहरुले राहत महसुस गर्ने अवस्थाको सिर्जना हुन नसकेको दाबी गरे। चोरी तथा लुटपाटका घटना भएपछि औपचारिक रुपमा केवल प्रशासनिक निकायमा रिपोर्ट गर्ने काम मात्र भएको उनको भनाइ छ।
उद्योग व्यापार संगठन रुपन्देहीका महासचिव अनिलकुमार ज्ञवालीले व्यवसायीहरुलाई सुरक्षाको प्रत्याभुति हुनुपर्ने माग गरे। उनले व्यवसायीहरुले पनि सावधानी अपनाउनुपर्ने औंल्याए।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले विगतमा भएका घटनाहरुको पनि अनुसन्धान भइरहेको जानकारी दिए। उनले भरपर्दो सुरक्षा रणनीति तथा योजना लागू गरेर व्यवसायिक वातावरण बनाइने स्पष्ट पारे। स्वच्छ र इमान्दार व्यवसायीलाई व्यवसाय गर्ने वातावरण सिर्जना हुनेमा ढुक्क हुन उनको आग्रह छ। प्रजिअ पन्थले सुरक्षा र सावधानी दुवै आवश्यक रहेको बताउँदै सुरक्षा बाहिरबाट हुने र सावधानी व्यवसायीहरुले अपनाउनुपर्नेमा जोड दिए।
'सिसिटिभी राख्यौं भनेर ढुक्क हुने अवस्था छैन, यो त घटना घटिसके पछिको उपचार हो, घटना घट्नै नदिन सावधानी अपनाउनुपर्छ,' उनले भने, 'पसल बाहिर घन्टौं पर्खेर बस्ने र शंकाष्पद व्यक्ति देखेमा प्रहरी प्रशासनलाई खबर गर्नुहुन मेरो अनुरोध छ।' सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन व्यवसायीको पनि सहयोग आवश्यक रहेकोमा उनले जोड दिए।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेम बहादुर थापाले घटना भएपछि यो भएन, त्यो भएन भनेर पन्छिनुभन्दा पहिलेदेखि नै सावधानी अपनाउनुपर्ने सुझाए। उनले सानो कुराले पनि ठूलो असर पार्ने भएकोले व्यवसायीको भूमिका सशक्त हुनुपर्नेमा जोड दिए। सुनचाँदी पसल तथा बैंक र वित्तीय संस्था भएको क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउन टोली नै खटाइएको थापाको भनाइ छ।
राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका प्रमुख नविन अधिकारीले सुनचाँदी व्यवसायलाई संवेदनशील क्षेत्रको रुपमा हेरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।