काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेपालमाथि कसैको दबाब वा प्रभाव हेर्न नचाहेको बताएका छन्।
राजदूत बेरीले नेपाल कसैको पक्षमा नभई नेपालकै पक्षमा उभिएको र उभिनैरहने विश्वास पनि व्यक्त गरे। शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालमा अमेरिकी कूटनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अमेरिकाले अघि सारेको ‘इन्डो-प्यासिफिक स्ट्राटिजी’मा नेपालले आवश्यकता महसुस गरे सहभागी हुनसक्ने स्पष्ट पारे।
तर, त्यसका लागि नेपालमाथि आफ्नो मुलुकले कुनै पनि प्रकारको दबाब वा प्रभाव केही पनि नदिने राजदूत बेरीको भनाइ थियो।
चीनले अघि सारेको ‘बिआरआई’ अवधारणामाथि नेपालमा बहस भइरहेका बेला अमेरिकी राजदूत बेरीले आफ्नो मुलुकले पनि इन्डो-प्यासिफिक क्षेत्रको हितका लागि ‘इन्डो-प्यासिफिक स्ट्राटिजी’ अघि सारे पनि सो रणनीतिमा नेपाललाई साझेदार बन्न दबाब नदिइने प्रष्ट्याएका हुन्।
उनले अमेरिकाले नेपाल चीन, भारत, अमेरिका वा अन्य देशको पक्षमा नभई आफ्नै पक्षमा उभिएको हेर्न चाहेको पनि बताए। दुई मुलुकबीचको सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको स्मरण गराउँदै राजदूत बेरीले नेपाललाई अमेरिकी सरकारले हरेक वर्ष सहयोग गर्दै आएको पनि स्मरण गराए।
यस वर्ष पनि अमेरिकाले सहयोगस्वरुप मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) परियोजनाअन्तर्गत नेपाललाई ५० अर्ब रुपैयाँ सहयोग गर्ने उनले जानकारी दिए। उनले नेपालको गरिबी निवारण र आर्थिक विकासमा सहयोग पुर्याउने अमेरिकी सरकारको लक्ष्य रहेको पनि बताए।
राजदूत बेरीले नेपाल भू-परिवेष्ठित मुलुकका रुपमा स्वतन्त्र र सार्वभौम रहेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउन आफ्नो मुलुक सदा सहयोग गर्न प्रतिवद्ध रहेको जनाए।
राजदूत बेरीले दुई मुलुकबीचको सम्बन्धलाई अझ मजबुत बनाउन उच्चस्तरको राजनीतिक भ्रमण भइरहेको र भविष्यमा समेत भइरहने स्पष्ट पारे। उनले नेपालमा भुटानी शरणार्थी व्यवस्थापनमा अमेरिकाले सहयोग गरेको स्मरण गराउँदै अन्य क्षेत्रको पनि पहिचान गरी सहयोग उपलब्ध गराउने योजना रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।