काठमाडौं– नेपाल स्टक एक्सचेन्ज नेप्सेले मार्जिन कारोबार अनुमतिपत्र प्राप्त धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोबार सुरु गर्न निर्देशन दिएको छ। मार्जिन कारोबारको अनुमति पाएका २१ वटा दलाल कम्पनीलाई नेप्सेले शुक्रबार यस्तो निर्देशन दिएको हो।
नेपाल धितोपत्र बोर्डले असोज १ गते नेप्सेलाई पत्राचार गर्दै मार्जिन कारोबार सुविधा शीघ्र सञ्चालन निर्देशन दिएको थियो। बोर्ड निर्देशन पनि नेप्सेले २१ वटा धितोपत्र दलाल व्यवसायीलाई अनुमतिपत्र प्रदान गरी आवश्यक पूर्वाधार तयार भइसकेको सन्दर्भमा सो सेवा कार्यान्वयनका नआएकोले लगानीकर्ताको हित तथा बजारलाई थप चलायमान बनाउन यथाशीघ्र सञ्चालन गर्न शुक्रबार निर्देशन दिइसकेको जनाएको छ।
मार्जिन कारोबार सम्बन्धी सबै पूर्वाधार तयार भइसक्दा पनि यो सेवा सुरु नभएपछि धितोपत्र बोर्डले असोज १ गते नेप्सेलाई स्पष्टीकरण सोधेको थियो। ‘मार्जिन कारोबार सुविधा कार्यान्वयनमा ल्याउन सम्पूर्ण पूर्वाधार तथा सञ्चालन व्यवस्था तयार भइसकेको परिपेक्ष्यमा लगानीकर्ताको हित, दोश्रो बजारको सुधारका साथै धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तारको लागि मार्जिन कारोबार सुविधा सम्बन्धी कार्य शीघ्र सञ्चालन गर्न यो निर्देशन दिइएको छ,’ बोर्डले नेप्सेलाई पठाएको पत्रमा उल्लेख छ। बोर्डको निर्देशन कार्यान्वयनका लागि नेप्सेले पनि धितोपत्र दलाल कम्पनीहरुलाई निर्देशन दिएको हो।
हालसम्म नेपाल राष्ट्र बैंकबाट २१ वटा धितोपत्र दलाल व्यवसायीहरुलाई मार्जिन कारोबारको लागि कर्जा प्रदान गर्न स्वीकृत प्रदान समेत भइसकेको छ।
धितोपत्रको दोश्रो बजारमार्फत लगानी गर्ने सर्वसाधारण लगानीकर्तालाई अन्तर्राष्ट्रिय अभ्यासअनुरुप मार्जिन कारोबार सुविधा उपलब्ध गराउने, दोश्रो बजार कारोबारमा तरलता अभिवृद्धि गर्ने तथा धितोपत्र दलाल व्यवसायको दायर गर्ने उद्देश्यले बोर्डले २०७४ कात्तिक २० गते ‘मार्जिन कारोबार सम्बन्धी निर्देशन, २०७४’ जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।